चिया निर्यात बढ्यो, अलैँची घट्यो

झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश. २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *