तिहारका लागि फूल तयार

दाङ । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।

घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए । यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभई अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए ।

व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँं । बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ’, रोका मगरले भने । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँ तिहारलगायत पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन् ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन् । उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । विगत चार÷पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् । २६ वर्षीय उहाँले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका छन् । गत वर्ष तिहारको समयमा सात लाख बढीको फूल बेचेर आम्दानी गरेका उनले यस वर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन् ।

यस्तै, घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन् । बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए । ‘विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेष गरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ ।’

प्लास्टिकजन्य माला विस्थापित

तिहारको अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ ।

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् । लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएको छ ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *