रास्वपालाई सरकारको चेतावनी– सडकबाट धम्क्याउने कुरा स्वीकार्य हुन्न

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सडक आन्दोलनको आलोचना गरेका छन् ।

आज बुधवार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी नेताहरूले रास्वपाको आन्दोलनको आलोचना गरेका हुन् ।

सत्ता गठबन्धनको बैठकले रास्वपाको आन्दोलन स्वीकार्य नहुने निष्कर्ष समेत निकालेको छ ।

सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको आन्दोलन स्वीकार्य नहुने सत्ता गठबन्धनले निष्कर्ष निकालेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

लामिछानेमाथि अदालतले छानबिन गरिरहेका बेला सडकबाट अदालतलाई धम्क्याउने काम गरिएको भन्दै नेताहरूले विरोध गरेको उनले बताए ।

उनले सडकबाट अदालतलाई धम्क्याउने कार्य स्वीकार्य नभएको निष्कर्ष निकालेको सुनाए ।

‘छानबिन र न्यायिक निरूपणको आफ्नो प्रक्रिया हुन्छ । छानबिन प्रक्रिया अघि बढिरहेको बेलामा सडकमा भिड जम्मा गरेर छानबिन र अदालतलाई समेत प्रभावित पार्नेखालको गतिविधि स्वीकार्य हुँदैन,’उनले भने ‘यो लोकतान्त्रिक दृष्टिकोणले पनि उचित कुरा होइन । फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *