लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छ : मन्त्री ढकाल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बुधवार बुटवलमा आयोजित व्यापार तथा लगानीमा प्रदेश स्तरका सरोकारवालाहरुसँगको एक दिने छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेश र लगानीको क्षेत्रमा केन्द्रित गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताएका हुन् ।

उनले लुम्बिनी सरकारले निजी क्षेत्रको लगानीलाई व्यवस्थित गर्नेबारेमा पनि आवश्यक योजना बनाइरहेको बताए । उनले निजी क्षेत्रले गरेको लगानीको व्यवस्थापनका बारेमा सरकारले आवश्यक काम अघि बढाएको जिकिर गरे । मन्त्री ढकालले निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा देखिएका कमजोरीहरू समाधान गर्न सरकार तयार रहेको बताए । उनले वाह्य पुँजीलाई आकर्षित गर्नेगरी सरकारले काम गरिरहेको पनि बताए । प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउने काममा केन्द्रित रहेको बताए ।

उनले भने, ‘निजी क्षेत्रको लगानीलाई कसरी व्यवस्थित गरेर अघि लैजाने ? भन्ने सन्दर्भमा सरकारले अनेकौँ कोणबाट छलफल गराइरहेको छ । हिजोका दिनमा निजी क्षेत्र लगानी पनि गरिरहेको छ, त्यसलाई व्यवस्थापन गर्ने काममा सरकारको सहयोग पनि भइरहेको छ । तर त्यसलाई जति व्यवस्थित गर्नुपर्ने हो, जति मिलेर अघि लैजानुपर्ने हो त्यो कुरामा कहीँ न कहीँ कमी कमजोरी छन् भन्नेकुरा हामीले पनि महशुस गरेका छौँ । वास्तवमा टक्सार म्यागेजिनले राष्ट्रिय राजनीतिभित्र अर्थ राजनीतिको क्षेत्रलाई मिलाएर कसरी अगाडि लैजान सकिन्छ भन्ने सन्दर्भमा लामो समयदेखि आफ्नो भुमिका निर्वाह गरेको छ । निजी क्षेत्र र सरकारको बीचमा लगानीको सन्दर्भमा केही देखिएका कमजोरीलाई पूर्णता दिनेछौँ । सरकार र निजी क्षेत्रका सम्पूर्ण संघ संस्थाहरूलाई एकसाथमा राखेर अघि बढाउने कुरामा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुन्छ । सरकार, निजी क्षेत्र र पत्रकार जगत हामी तीन पक्ष मिलेर आगामी दिनमा लुम्बिनीलाई कसरी लगानीमैत्री क्षेत्र बनाउने हामीले देशभित्रका राष्ट्रिय पुँजीलाई कसरी प्रदेशमा केन्द्रित गर्ने, लगानीको क्षेत्रमा केन्द्रित गर्ने, बाहिरबाट आउने पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आजको प्रमुख विषय हो । प्रदेश सरकार निजी क्षेत्रलाई पनि कसरी साथमा लिएर प्रदेशको विकासलाई अघि बढाउन सकिन्छ भन्नेकुरामा सोचिरहेको छ । लगानीका सन्दर्भमा कतिपय नीतिगत, व्यवहारिक क्षेत्रमा सुधार गर्नुपर्ने केही विषयहरू छन् भने त्यसलाई सुधार गरेर हामी प्रदेशमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भनेर लागि परेका छौँ । हाम्रो प्रदेशमा तीन वटा औद्योगिक ग्राम भनेर घोषणा गरेका छौँ । तर जति कार्यान्वयन गर्नुपर्ने हो त्यति कार्यान्वयन गर्न सकेका छैनौँ ।’

मन्त्री ढकालले प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए । उनले लुम्बिनी प्रदेशमा तीन औद्योगिक ग्राम स्थापना गरेको भएपनि कार्यान्वनय गर्न नसकेको बताए । भैरहवा विमानस्थललाई नियमित सञ्चालन गर्ने विषयमा संघ र प्रदेश सरकारले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

One thought on “लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम शुरु गरेको छ : मन्त्री ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *