ओली सरकारको ‘एक सय’ दिन : यस्तो छ प्रगति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार प्रधानमन्त्री ओलीले सरकार गठन भएको एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री ओलीको ‘एक सय’ दिनमा भ्रष्टाचार नियन्त्रण,विकास,सुशासनदेखी नागरिकको जीवनस्तर सहज बनाउने सम्मका कामहरु समेटिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण,सुशासन,विकास निर्माणमा एक सय दिनमा महत्वपूर्ण काम गरेको दावी गरे ।

सहकारी ठग्ने ६ सय बढी कानूनी दायरामा, ५ सय ७५ बढी जेलमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगहरुलाई कानूनी कारबाहीको दायरामा ल्याइएको बताए । ‘सहकारी संस्थाहरुमा सर्वधासधारणले जम्मा गरेको रकम ठग्ने,अपचलन गर्नेहरुलाई कानूनी दायरमा ल्याएका छौँ,ल्याउँदैछौँ,प्रधानमन्त्री ओलीले भने,’ ६ सय माथिलाई कानूनी कारबाही गरिएको छ भने ५ सय ७५ बढी अहिले जेलमा छन् ।’

उनले काारबाही गर्ने मात्रै नभई सर्वसाधारणको बचत फिर्ताका लागि सहकारी कर्जा सुचना केन्द्र तथा श्रण असुली न्यायाधिकरण स्थापनाको कामलाई अघि बढाइएको समेत बताए ।

भ्रष्टाचार नियन्त्रणतर्फ उन्मुख

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले क्यामेरालाई नभई कानूनलाई ढूलो मानेर सरकार अघि बढिरहेको बताए । क्यामेरालाई होइन कानूनलाई ठूलो मानेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने,‘भ्रष्टाचारी समातिएको हल्ला मच्चिने तर परिणाममा भ्रष्टाचार बढ्दै जाने प्रवृत्तिको अन्त्य गर्न चाहान्छौँ ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकता दिएर सुरुवात देखी नै काम गरिरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन सुटिङ गरेर देखाएजस्तो विषय नभएको समेत बताए । एकछिनको हल्बाजी गरेर भ्रष्टाचार नियन्त्रण नहुने उनको भनाई थियो ।

दुग्ध तथा उखु किसानको रकम भुक्तानी

यस्तै गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट प्रभावितहरुको घर निर्माण छिट्टै गरिने उनले बताए । उनले एक सय दिनको अवधिमा १५ लाख दुग्ध किसानले भुक्तानी पाएको समेत प्रधानमन्त्री ओलीले बताए ।

यसका लागि सरकारले ६० करोड निकासा गरेको उनको भनाई थियो । त्यसैगरी ७५ हजार उखु किसानले समेत भुक्तानी पाइसकेका उनले बताए । हिउँदे बालीका लागि रासायनिक मलको बन्दोबस्त गरिएको समेत बताए ।

उद्योगमा १४ अर्ब लगानीको प्रतिवद्धता

निर्माण व्यवसायीहरुले काम गरेबाफतको ६ अर्ब ७५ करोड भुक्तानी गरिसकिएको पनि उनले बताए । यसबीचमा २ सय उद्योगमा १४ अर्ब लगानीको प्रतिवद्धता आएको समेत उनले बताए ।

२५ लाख सम्मको स्टार्टअप कर्जा प्रवाह

देशमा केही छैन भन्ने भाष्यलाई सरकारले चिरेको प्रधानमन्त्री ओलीले  दावी गरे । उद्यमशिलताको प्रवद्र्धनमा सरकारले १ सय ६५ युवाहरुलदाई खुल्ला आवेदनको माध्यमबाट २५ लाख सम्मको स्टार्टअप कर्जा प्रवाह गरेको उनले बताए । यस वर्ष ५ हजार १ सय ५८ उद्यमीले प्रस्ताव पेश गरेका उनका बताउँदै पुष मसान्तभित्र कर्जा प्रवाह गरिने उल्लेख गरे ।

पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारणका लागि सम्झौता

पेट्रोलियम पदार्थको सहज आपूर्ति र भण्डारण क्षमता अभिवृद्धिका लागि भारतको सिलगढी देखी झापाको चारआलीसम्म र अमेलखगन्ज देखी चितवनको लोथरसम्म पाइपलाइन विस्तार तथा टर्मिनल भवन निर्माण कार्यअघि बढाउन नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच सम्झौता भइसकेको प्रधानमन्त्री ओलीले आफ्नो सय दिने प्रगति विवरणमा समावेश गरेका छन् ।

अर्थतन्त्र सुदृढ

प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार गठन भएपछि अर्थतन्त्र सुदृढ भएको बताएका छन् । आफु सरकारमा आएपछि डामाडोल अवस्थामा रहेको अर्थतन्त्रमा अहिले सुधारका काम भएका उनले बताए ।

‘आर्थिक सुझाव जस्ता महत्वपूर्ण आयोग बनेका छन् । व्यवसायीमा आत्मविश्वास बढेको छ,’प्रधानमन्त्री ओलीले भने । राजश्व परिचालन १३ दशमलव ३ प्रतिशतले वृद्ध भई २ सय ४८ अर्व पुगेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संघीय सरकारी खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही प्रतिशत वृद्धि भई करिब ३ सय २९ अर्व पुगेको उनले बताए ।

सात वटै प्रदेशमा नि:शुल्क जलन उपचारको व्यवस्था

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सात वटै प्रदेशमा नि:शुल्क जलन उपचारको व्यवस्था गरिएको बताए । कोशी प्रदेशको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,मधेश प्रदेशको नारायणी अस्पताल,बागमती प्रदेशको किर्तीपुर अस्पतालमा उपचार गर्न नसक्ने नागरिकहरुका लागि नि:शुल्क जलन उपचारको व्यवस्था गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,लुम्बिनी प्रदेशको भेरी अस्पताल,कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल तथा सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा नि:शुल्क जलन उपचारको व्यवस्था गरिएको छ ।

यसैगरी यसअघि तीन वटा प्रदेशमा उपलब्ध क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गरिएको छ । देशरभका १९ वटा संघीय अस्पतालहरुमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरी १८ संघीय अस्पतालमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रााली लागू गरिएको प्रधानमन्त्री ओलीको सय दिने प्रगति विवरणमा समेटिएको छ ।

सार्वजनिक प्रशासनमा हुने ढिलासुस्सती र प्रशासनिक काममा हुने झन्भट एवं नागरिक सेवालाई मध्यनजर गरी कामको थालनी गरिएको छ ।

नागरिक एपमा नै लाइसेन्सको व्यवस्था

सवारी चालकले ट्रायल पास गर्नका लागि नागरिक एपमा नै लाइसेन्सको व्यवस्था गरिएको छ । सवारी नियम उल्लंघनको जरिवाना तिर्दा सोही स्थाना जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ ।
कुनै पनि सरकारी सेवा लिन कार्यालय धाउन नपर्ने,कर्मचारी भेट्न नपर्ने तथा घरमै बसेर सबै सेवा लिन सक्ने व्यवस्था गरिन लागेको समेत प्रधानमन्त्री ओलीले बताए । उक्त सेवाले सेवा प्रवाहमा हुँदै आएको झन्झट अन्त्य हुने र सुशासन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा सरकारले लिएको छ ।

सरकारी कामको जानकारी मोबाइलमै प्राप्त हुने

सरकारी कार्यालयमा कामका फाइल अड्काउने,कामको समय लम्ब्याउने र यसबाट सेवाग्राहीले दुख पाउने अवस्थाको अन्तत्य गर्न क्युआर कोड मार्फत फाइाल मुभमेन्ट ट्रयाकिङ गर्ने प्रणाली परिक्षणको रुपमा सुरुवात गरिएको छ । यसबाट सरकारी कार्यालयमा हुने आफ्नो कामको जानकारी मोबाइलबाटै प्राप्त हुने छ ।

मालपोत कार्यालयमा सेवा लिँदा लाइन बस्नु नपर्ने

२ सय ६७ मालपोत कार्यालयमा ज्येष्ठ नागरिक,अपाङ्ग,अशक्तले लाइनमा नवसी सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ । नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम लागू भएका ५८ नापी कार्यालयहरुमा अनलाइनमार्फत सेवा ट्रयाकिङ प्रणाली समेत लागू गरिएको छ ।

लगानीकर्ताको उपस्थितीविनै ५० करोडको लगानी स्वीकृत

लगानीकर्ताको भौतिक उपस्थितीविना कुल पूँजी ५० करोड विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतीको प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री आलीले यसबाट लगानीकर्तालाई सहज हुने विश्वास लिइएको बताए ।

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई दिइने क्षतिपूर्ति रकम ७ लाखबाट १० लाख पुर्‍याइयो

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई दिने गरिएको क्षतिपूर्ति बढाइएको छ । यसअघि दिइदै आएको रु. ७ लाखबाट बढाएर १० लाख उपलब्ध गराउने व्यवस्था गरिएको प्रधानमन्त्रीको सय दिने प्रगति विवरणमा समेटिएको छ ।

यस्तै विरामी उपचार खर्च पाएर मृत्यु भएकाहरुले क्षतिपूर्ति नपाउने यसअघिको व्यवस्थाको साँटो उनीहरुको परिवारलाई पनि रु १० लाख दिइने व्यवस्था गरिएको छ । यसैगरी रोजगारी अनुमति प्राप्त नभएका विदेशमा रहेका नागरिकलाई वर्क पर्मिटको व्यवस्था गरिएको छ ।

बंगलादेशमा विद्युत् निर्यात

चाहिने भन्दा बढी विद्युत् उत्पादन गरिएपनि विक्री हुन नसकेको अवस्थामा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि त्रिपक्षीय विद्युत् विक्रि सम्झौता भएको छ प्रधानमन्त्रीको प्रगति विवरणमा उल्लेख छ ।

६ सय ४७ मिटर सुरुङ खनियो

फास्ट ट्रयाकअन्तर्गत मकवानपुरको धोद्रे सुरुङ ब्रेक थ्रु भएको छ । नागढुङ्गा मुख्य सुरुङको लाइनिङ सम्पन्न हुँदा रुपन्देहीको सिद्धबाबा सुरुङमा उल्लेखनीय प्रगति भएको छ । अहिलेसम्म ६ सय ४७ मिटर सुरुङ खनिएको छ ।

३२.५ किलोमिटर सडक कालोपत्र

प्रधानमन्त्री ओलीको एक सय दिने प्रगति विवरणमा ३२.५ किलोमिटर सडक कालोपत्र गर्ने कार्य समेटिएको छ । ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको छ । यसबाट आवतजावतमा सहज भएको छ । यस्तै विभिन्न सवस्टेशनहरु सञ्चालनमा आएका छन् ।

डिजिटल कनेक्टीभीटीमा नयाँ युगको सुरुवात

हुम्लामा ‘फाइबर टु द होम’ सेवा सञ्चालनमा आएको छ । यससंगै देशभरका ७७ वटै जिल्लामा उक्त सेवा पुगेको छ । यसले डिजिटल कनेक्टीभीटीको नयाँ युगको सुरुवात गरेको प्रधानमन्त्री ओलीले बताए । यस्तै साइपाल गाउँपालिकामा वाणिज्य बैंङकको शाखा स्थापना भएपछि देशभर वित्तीय संस्थाको पहुँच पुगेको छ ।

४ दर्जन बढी ऐन,नियम,कार्यविधिहरुमा सहमति प्रदान

यसैगरी ४ दर्जन बढी ऐन,नियम,कार्यविधिहरुमा सहमति प्रदान गरिएको प्रधानमन्त्रीको सय दिने प्रगति विवरणमा उल्लेख छ । सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत र प्रमाणीकरण भएको छ । जसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ ।

यसबाहेक भैरहवा र पोखरा विमानस्थलमा फ्लाइट आकर्षित गर्न हवाई इन्धमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तराष्ट्रिय उडानको प्रवन्ध गरिएको छ ।

कीर्तिपुर क्रिकेट रंगशालामा प्याराफिट निर्माण गर्न सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भई काम अघि बढेको लागयतका कार्यहरु प्रधानमन्त्रीको सय दिने प्रगति विवरणमा समेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *