साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

काठमाडौं । साविक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको भारतमाथि बुधवार ३–१ को जित निकाल्दै बंगलादेशले पनि अन्तिम चारको यात्रा तय गरेको हो ।

बंगलादेशको यो जितसँगै सेमिफाइनलमा पुग्ने पाकिस्तानको आशा समाप्त भयो । भारतले बंगलादेशमाथि जित निकाल्दा पाकिस्तान समूह ए को उपविजेताको रूपमा सेमिफाइनलमा पुग्ने समीकरण थियो । तर पाकिस्तानको चाहनाअनुरूप नतिजा भएन । यससँगै बंगलादेश समूहविजेता र भारत उपविजेताको रूपमा सेमिफाइनलमा पुगे ।

समान दुई खेलबाट बंगलादेशले चार अंक, भारतले तीन र पाकिस्तानले एक अंक बटुल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले पाँच पटकको विजेता भारतमाथि दबाब बनाउँदै जित निकालेको हो ।

पहिलो हाफमा तीन गोलले पछाडि परेको स्थितिमा भारतले एक गोल फर्काएको थियो । तर दोस्रो हाफमा भने गोल निस्किएन । पहिलो हाफमा भारतले पनि गोलका अवसर सृजना नगरेको भने होइन ।

बाला देवीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा मनिषाको फ्रिकिक पहिलो बारमा लागेर बाहिरिएको थियो । बंगलादेशले भने पाएका अवसरलाई गोलमा परिणत गर्यो । बंगलादेशका लागि तोहुरा खातुनले दुई तथा अफेइदा खन्दाकेरले एक गोल गरे । भारतका लागि बाला देवीले गोल गरिन् ।

त्यसअघि खेलको १० औं मिनेटमा भारतीय खेलाडी मनीषाको प्रहार बंगलादेशकी गोलकिपर रुपना चक्माले बचाइन् । खेलको १८ औं मिनेटमा बंगलादेशले सेटपीस अवसरलाई सदुपयोग गर्दै अग्रता लियो । कप्तान सबिना खातुनको कर्नरलाई विपक्षी गोलकिपर पान्थोइ चानुले नियन्त्रणमा लिन सकिनन् । जसको फाइदा अफेइदाले लिइन् ।

उनको लोफ्टेड प्रहारले टप कर्नरको जाली चुमेको थियो । २९औं मिनेटमा बंगलादेशले दोस्रो गोल गर्यो । यसपल्ट विपक्षी रक्षकको तालमेल नमिल्दा रितु पोर्ना चक्माको क्रसमा तोहुरा (खातुन)ले गोल गरिन् ।

३५औं मिनेटमा चानु सोरोखाइबमको क्रसमा बाला देवीले गरेको प्रहार गोलकिपर चक्माले बचाउँदा भारत गोल गर्नबाट चुक्यो । त्यसको सात मिनेटपछि तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले समसुनुहार जेको ब्याक पासमा बक्स नजिकैबाट दर्शनीय गोल गरेकी थिइन् । उनको शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो । बंगलादेशले तेस्रो गोलको सेलेब्रेसन गर्न नपाउँदै भारतले एक गोल फर्कायो । काउन्टर आक्रमणमा बाला देवीले गोल गरिन् । यससककंगै पहिलो हाफमा भारत ३–० ले पछाडि रह्यो ।

दोस्रो हाफमा भने दुवै तर्फबाट गोल हुन सकेन । दोस्रो हाफको शुरूमै भारतको आक्रमण सफल भएन । ५४औं मिनेटमा भारतकी रिम्पा हल्दारले करिव १५ यार्डबाट गरेको सशक्त प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माले उत्कृष्ट बचाउ गरिन् । भारतको ६२औं मिनेटमा गरेको उत्कृष्ट आक्रमण पनि सफल भएन ।

ज्योति चौहानले पेनाल्टी बक्सबाटै गरेको सशक्त प्रहार फेरि चक्माले नै पन्च गर्दै बिफल पारिन् । ८०औं मिनेटमा मध्यभागबाट सपना रानीले गरेको लामो प्रहार भारतकी गोलकिपर पन्थोईले पन्च गर्दै बाहिर पठाउँदै संकट टारिन् । त्यसपछि बाँकी समयमा दुवै तर्फबाट अवसर सिर्जना भए पनि गोल निस्किएन र बंगलादेशले ३– १ को जित निकाल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *