पर्यटनमन्त्री पाण्डेका सय दिन : यस्ता छन् उपलब्धि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिनको अवधिमा मन्त्रालयबाट भएको उपलब्धिहरू सार्वजनिक गरेको छ ।

बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पत्रकार सम्मेलन गर्दै आफूले कार्यभार सम्हालेको सय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

सय दिनको अवधिमा नागरिक उडड्यनतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८१ र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको बताइएको छ ।

त्यस्तै नेपालको नागरिक उड्डयन प्रणालीलाई सुरक्षित एवं विश्वसनीय बनाउन यस अघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिस अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई कार्य प्रारम्भ भएको मन्त्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८१ कार्तिक २४ गते देखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्नेगरी कार्यतालिका स्वीकृत गरिएको पनि उनले जानकारी दिए । मन्त्रालयले आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बीमालाई समयानुकूल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अघि बढाइएको पनि उनले उल्लेख गरे ।

उनले विपद्को अवस्थामा यातायात सेवा अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए । त्यस्तै अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायुसेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट विक्री नगर्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ । उनले विमानस्थलहरूलाई विहान साढे ४ बजेदेखि रातिको १ बजेसम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराए ।

यस बीचमा, नेपाल र फ्रान्स बीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडी बढाइएको मन्त्रालयको भनाई छ । नेपाल र इण्डोनेशिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ । मन्त्री पाण्डेका अनुसार सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिइएको छ ।

पर्यटनतर्फ पर्यटन विधेयक, २०८१ सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको मन्त्री पाण्डेले जानकारी दिए । क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको र पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको उनको भनाई छ । त्यसैगरी नेपालका ५ हजार ८०० देखि ६ हजार ५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको उनले जानकारी दिए ।

मन्त्रालयले पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाएको छ । त्यस्तै ग्रेट हिमालयन ट्रेलको थप ५ कि.मी. पदमार्ग निर्माण कार्य सम्पन्न गरेको र हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब २ सय जना पर्यटकहरूलाई उद्धार गरिएको पनि जानकारी गराइएको छ । उनका अनुसार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा १००८ जनालाई पर्वतारोहण तथा होटल व्यवस्थापन सीपसम्बन्धी तालिम प्रदान गरिएको छ ।

मन्त्री पाण्डेले राष्ट्रिय संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए । सय दिनको अवधिमा प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा पठाइएको जनाइएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोष ऐन, २९४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको र संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको जानकारी दिइएको छ ।

उनले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण तथा व्यवस्थापन) विधेयकको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिए । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये थप ५ सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यस्तै युनेस्कोका सुझावहरू कार्यान्वयन गर्न लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । सन् २०२५ भित्र तिलौराकोट, कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी स्वरूप आइसिओएमओएसको मिसनद्वारा अवलोकन तथा अध्ययन कार्य सम्पन्न भएको कुरालाई सय दिनको उपलब्धिको रुपमा राखिएको छ । पशुपति क्षेत्रमा अवस्थित विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माण कार्य सम्पन्न भएको पनि उपलब्धिको रुपमा राखिएको छ ।

त्यसैगरी, ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकाको आर्ट इन्स्टिच्युट अफ सिकागोमा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रक्रिया अघि बढाइएका पनि मन्त्री पाण्डेले जानकारी गराए । शंकर किर्ति महाविहार, भगवान् वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ति सोही स्थानमा पुनर्स्थापना गरिएको पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *