द्रौपदीले पाइनन् मेहनतको मूल्य

काठमाडौँ । अहिले उपत्यकामा गोलभेँडाको भाउ आकासिएको छ । सिजन सकिएसँगै उपत्यकामा यसको भाउ आकासिन थालेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार भारतीय ठूलो गोलभेँडाको मूल्य न्यूनतम प्रतिकेजी रु. १२० थियो । अधिकतम रु. १३० र औसत रु. १२५ रहेको थियो ।

भक्तपुर दुवाकोट-२ मा खेतिकिसानी गर्दै आएकी द्रौपदी भाटका अनुसार यस वर्ष किसानले गोलभेँडाको राम्रो मूल्य पाएनन् । उनले यस वर्ष गोलभेँडा प्रतिकेजी रु. १७/१८ देखि २०/२५ रुपैयाँसम्ममा बिक्री गरेको बताइन् ।

उनले असोज ११ र १२ गते आएको बाढिपहिरोका कारण मात्र गोलभेँडाले भाउ पाएको बताइन् । उनले अहिले गोलभेँडाको भाउ बढेपनि बारीमा गोलभेँडा बाँकी नभएको गुनासो गरिन् ।

उनले भनिन् ‘यसपालि त फूल मरेर फल धेरै लागेन । भाउ नआएर तनाव । अस्ति बाढी पहिरो आएर मात्र महँगिएको हो । भाउ रु. ३५ सम्म पुगेको थियो । त्यसपछि त गोलभेँडा पनि सकियो । भाउ आए पनि के ? नआए पनि के ?’

उनले किसानले गोलभेँडाको मूल्य रु. २० पाउँदा बिचौलियाले रु. ५० नाफा लिने गरेको सुनाइन् ।

उनले गत चैतमा टनेलमा गोलभेँडाका बोटहरू रोपेकी थिइन् । ती गोलभेँडाहरूले ४ महिना फल दिए । अहिले उनका गोलभेँडाका बोटहरूले फल दिन छाडि सकेका छन् । उनले पनि पुराना गोलभेँडाका बोटहरूलाई फाँडेर काउली रोप्ने तरखर गरिरहेकी छिन् ।

उनले यसपटक गोलभेँडाको फूल मरेर गोलभेँडाको बोटमा फल धेरै नलागेको सुनाइन् ।

सिजन सकिएसँगै उपत्यकामा अहिले भारतीय गोलभेँडाले एकछत्र राज गर्नेक्रम सुरु भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार हिजो बिहीबार मात्र २२ हजार १ सय ७५ केजी ठूलो गोलभेँडा भारतबाट भित्रिएको छ ।

यद्यपि ती गोलभेँडाहरूले मूल्य पनि राम्रै पाइरहेका छन् । नेपाली जनताहरू चर्को मूल्य तिरेर उक्त गोलभेँडाहरू उपभोग गर्न बाध्य छन् । तर नेपाली किसानहरूले भारतीय गोलभेँडासँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।

यस विषयमा बोल्दै किसान भाटले बेमौसम गोलभेँडा खेती गर्दा धेरै जोखिम उठाउनु पर्ने सुनाइन् । उनले जाडोमा गोलभेँडा खेती गर्दा तुसारोले खाइदिने, डढुवा लाग्ने र बोट सुक्ने समस्या हुने बताइन् । उनले भनिन् ‘जाडोमा तुसारोले खान्छ, डढुवा बढी लाग्छ, सुक्छ । त्यही भएर हुँदैन । यही मंसिरसम्म हुन्छ । पुस माघमा त तुसारोले खाइदिन्छ । ’

उनले चिसोको कारण बोटमा गोलभेँडाहरू नपाक्ने बताइन् । उनले अहिले ९ रोपनी जग्गा भाँडामा लिएर परिवारसहित तरकारी देखि गर्दै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *