अब रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको हो ।

रास्वपाले आज अपराह्न १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आव्हान गरेको छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

त्यस्तै रुपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको अवस्था छ । बिहीबार जिल्ला अदालत रुपन्देहीले लामिछानेसहित १२ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरूले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *