इजलासमा रवि– दुई तिहाइको सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो

काठमाडौं । अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापतिलाई थप ७ दिन हिरासतमै राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

लामिछाने कात्तिक २ गते शुक्रवार पक्राउ परेका थिए । अदालतले उनलाई पहिलो पटक ६ दिनको म्याद थपेको थियो ।

हिजो बिहीबार अदालतमा उपस्थित भएका लामिछानेले आफूलाई सरकारले झुटो मुद्दामा फसाएको आरोप लगाएका थिए । उनले दुई तिहाइको सरकारले आफ्ना विरुद्ध षड्यन्त्र गरिरहेको बताएका थिए ।

‘दुई तिहाइको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ । यतिखेर न्यायालयबाहेक कसैको आशा हुन सक्दैन श्रीमान्,’ उनले भने ‘मलाई न्यायालयको आशा छ, त्यस कारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान् ।’

इजलासमा लामिछानेले एउटा जाँच, एउटा कक्षामा मान्छेले कति पटक दिन्छ ? भन्दै प्रश्न समेत गरेका थिए । उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको पुरानै दाबी दोहोर्‍याएका थिए ।

उनले भने– ‘एउटा जाँच, एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान् ? म यो ठुलो आवाजका लागि क्षमा चाहन्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठुलो भएको हो ।’

लामिछानेमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारीको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *