कारागारमा रहेका कैदीलाई डेंगीबाट बचाइयोस् : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कारागारमा रहेका नागरिकको स्वास्थ्य सुरक्षा हुन नसकेको बताएकी छन् ।

उनले लामखुट्टे भगाउने धूप र लिक्विडसमेत थुनामा राखिएका कैदीहरूलाई नदिएको भन्दै आपत्ति जनाइन् ।

सामाजिक सञ्जालमा गृहमन्त्रीलाई सम्बोधन गर्दै उनले कास्कीमा अत्यधिक डेंगी सङ्क्रमणको केस देखिएको भन्दै सरकारले ध्यान दिनुपर्ने बताइन् ।

‘कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र ?’ उनले प्रश्न गरेकी छन् ।

उनले कारागारमा रहेका नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताएकी छन् । उनले कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडको व्यवस्था हुनुपर्ने बताइन् ।

‘एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्विड प्रदान गर्ने व्यवस्था गरियोस्,’ उनले भनेकी छिन् ।

रास्वपाका सभापति पनि अहिले हिरासतमा छन् । कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा लगेर हिरासतमा राखिएको छ ।

सांसद कार्कीले सभापति लामिछानेको स्वास्थ्य अवस्थालाई लक्षित गरेर सरकारको ध्यानाकर्षण गरेकी हुन् । रविको हिरासत बसाइँ लम्बिने निश्चित हुँदा उनलाई डेंगी सङ्क्रमण हुनसक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *