जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछ : प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरूको मूल्याङ्कन गरी न्यूनीकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाइ गर्न नहुने बताएका छन् ।

शुक्रवार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरामा जोड दिएका हुन् ।

प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्ने कार्यमा ढिलाइ गर्न नहुने स्पष्ट पारे । समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए

प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठुलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ता अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताए ।

उनले भने ‘जलवायु परिवर्तनले पार्ने प्रतिकुल प्रभावहरूले राष्ट्रका समग्र सुरक्षामा पनि पक्कै पनि असरहरू पार्नेछ । तसर्थ जोखिम र सम्भावित खतराहरूको मूल्याङ्कन गरी न्यूनीकरणको रणनीति तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुमा ढिलाइ भइसकेको छ । वर्तमान परिप्रेक्ष्यमा समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । आर्थिक समृद्धिको मुख्य आधार कृषि उत्पादन र प्राकृतिक स्रोतहरूमा हुने ह्रासले अर्थतन्त्रमा शिथिलता ल्याउने तथा प्राकृतिक प्रकोप व्यवस्थापन, खाद्य तथा जलस्रोत एवं वातावरणीय विनाशका कारण पर्यटन क्षेत्रमा समेत असर पर्न जाने देखिन्छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा ठुलो जोखिम निम्त्याउन सक्दछ । साथै हाम्रो जस्तो राष्ट्रमा वातावरणीय विनाशका कारण बढ्दो विपत्तिले पूर्वाधारमा क्षति तथा पुनर्निर्माणमा पनि कठिनाइ भई विकासका योजना समेत नकारात्मक असर परिरहेको हामीले देखिसकेका छौँ ।’

प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *