गठबन्धन स्थायी होइन : कांग्रेस उपसभापति खड्का

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन् ।

शुक्रवार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली काँग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताए । उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरेपनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको बताए

उनले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली) ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताए ।

उनले भने ‘एकल बहुमतको संघ, प्रदेश र स्थानीय सरकार बनाउनसके मात्रै हामी सफल हुनसक्छौँ । त्यसका लागि पूर्वशर्त छ, विगतमा भएका कमी कमजोरीहरू सच्याउन सक्नुपर्छ । वडाका साथीहरूले सुझाव दिने भन्ने घमण्ड गर्नु हुँदैन । सबैका सुझावहरू हामीले स्वीकार गरेर अघि बढ्न सक्नुपर्छ । पदको जिम्मेवारी मात्रै फरक हो, सम्मान सबैको बराबरी हुन्छ । गठबन्धनको विषयलाई म लामो व्याख्या गर्न चाहन्न, गठबन्धनको विषय स्थायी विषय होइन । तत्कालीन अवस्थामा, तत्कालीन राजनीतिक अवस्थामा, परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो । त्यसैले त्यो रणनीतिक निर्णयअन्तर्गत हामीले २०७४ सालमा पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्याैँ, एउटा परिणाम आयो । ०७४ को संघ र प्रदेशको चुनावमा हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । अर्को परिणाम आयो । ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका विरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको विरुद्धमा सर्वोच्चमा गरेको कानुनी लडाइँ, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनः स्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको विरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चार जगत आम जनता । त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ ।’

उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरू बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *