स्थानीय तहमा उपनिर्वाचन

आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, कसले कति खर्च गर्न पाउँछ ?

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका पदहरुमा उपनिर्वाचन हुँदैछ । नगरप्रमुख, गाउँपालिका अध्यक्षदेखि वडाध्यक्षसम्म रिक्त रहेका ४३ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुन गइरहेको हो ।

उपनिर्वाचनमा भाग लिनका लागि २५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।निर्वाचन आयोगसंगै राजनीतिक दलहरु उपनिर्वाचनको तयारीमा जुटिसकेका छन् ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकेको छ । शुक्रबार बसेको आयोगको बैठकले कानुनमा व्यवस्था भए बमोजिम उम्मेदवारको खर्चको सीमा तोकेको हो ।

जसअनुसार महानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । उप–नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ खर्चा गर्न पाउँदा नगरपालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ४ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

यस्तै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने आयोगले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

महानगरपालिकाभित्र वडाध्यक्षको हकमा ३ लाख रुपैयाँ, उपमहानगरकाका लागि २ लाख ५० हजार खर्च गर्न पोन सीमा तोकिएको छ । यस्तै नगरपालिकाका लागि २ लाख रुपैयाँ र गाउँपालिकाको वडाध्यक्ष पदको उम्मेदवारका लागि१ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

यसैबीच आयोगले सरकारसँग २० करोड रुपैयाँ माग गरेको छ । सरकारले आयोगलाई १२ करोड रुपैयाँ दिइसकेको भएपनि बाँकी अपुग ८ करोड रुपैयाँ माग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *