अब पालिकाबाटै कुन मुलुकबाट के काम आयो थाहा पाइनेछ : श्रममन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धीबारे जानकारी गराउने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामीले अहिलेको अवस्थामा रातारात रोजगारी सृजना गर्ने अवस्था पनि छैन । तर जहाँजहाँ सम्भावना छ, त्यसका लागि व्यवस्थित गर्दै अघि बढ्नका निम्ति मलाई हौसला भएको छ। कुन देशमा जाने, कहाँ काम गर्ने, कस्तो काम छ भन्नेकुरा कसरी जान्न सकिन्छ ? भन्ने बारेमा हामी लागेका छौँ ।’

उनले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरूको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दाबी गरे ।

मन्त्री भण्डारीले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको जनाए । उनले भने, ‘हाम्रो कोसिस प्रत्येक पालिकाको इएसीमा गएर कुन मुलुकबाट के काम आयो भन्नेकुरा त्यहाँका जनताले थाहा पाउन भन्ने हिसाबले काम गरिरहेका छौँ ।’

आफूहरू पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रमा सबै सूचना पुग्नेगरि एकीकृत सूचना प्रणालीको विकासमा लागेको उनले बताए । उनले भने, ‘त्यहाँ अब त्यस्ता कुरा लुकाउने, छिपाउने भन्नेकुरा अब रहँदैन। हाम्रो प्रयास प्रत्येक पालिकाको रोजगार सेवा केन्द्रसम्म सबै सूचनाहरू त्यहाँ एकीकृत हिसाबले पुग्ने मेकानिजम बनाउने गरी हामीले काम गरिराखेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *