डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी । जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ ।

दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो ।

किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए । तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए । दुई रोपनी क्षेत्रफलमा नौ बोट लगाएर खेती सुरु गरेको बताउँदै उहाँले अहिले खेती विस्तार गरी ४० बोट पु¥याएको जानकारी दिए ।

सुरुका चार वर्ष किबी हुर्काउन समय लागेको भन्दै मल्लले त्यसपछि उत्पदान दिन सुरु भएको बताए । हाल किबी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुन थालेको उनले जानकारी दिए ।

सुरुमा लगाएका प्रतिबोटमा वार्षिक रु ३० देखि ४० हजारको किबी फल्ने गरेको मल्लले बताए । ‘जिल्लामा पहिलो पटक किबीखेती गरेकोले बजारको समस्या थियो । बिक्री गर्नु पहिले एक÷दुई दाना चखाएपछि मात्र खरिद गर्नुहुन्थ्यो’, उनले भने ‘अहिले भने माग बाहिरी जिल्लाबाट पनि आउने गरेको छ । उपभोक्ताले घरमै आएर खरिद गर्ने भएकाले बजारको समस्या छैन ।’

किबीखेती गर्दा काँटछाँट र मलजलमा बढी ध्यान दिनुपर्ने मल्लले उल्लेख गरे । काँटछाँटसम्बन्धी ज्ञान नभएमा उत्पादनमा कमी आउने भन्दै ज्ञान केन्द्रले यससम्बन्धी तालिम दिनुका साथै आवश्यक समन्वय गरिरहेकाले किसानलाई खेती गर्न सहज भएको उनको बुझाइ छ । आगामी दिनमा एक सय बोट थप गर्ने योजना रहेको उहाँले जानकारी दिए ।

जोरायल गाउँपालिका–१ गैराका भास्कर भट्टले पाँच सयबढी बोट लगाएर किबीखेती गरिरहेका छन् । सात वर्ष पहिले सामाजिक सञ्जाल युट्युबमा भिडियो हेरेर किबीखेतीप्रति आकर्षित भएको बताउँदै उनले ६५ बोटबाट खेती सुरु गरेको जानकारी दिए ।

तत्कालीन समयमा कृषि ज्ञान केन्द्रको सहयोगमा ५५ बोट र बाँकी आफ्नो लगानीमा खेती गर्न थालेको भट्टले अनुभव सुनाए । यस वर्षदेखि किबी बिक्री हुने उनले बताए ।

उनले भने– ‘बारीमा चार क्विन्टल किबी छ, बिक्रीका लागि धनगढीस्थित भाटभटेनीसँग समन्वय भएको छ । यहाँबाट पनि १०÷१५ किलोका दरमा माग भइरहेकाले बिक्रीमा समस्या नहुने विश्वास लिएको छु ।’

अर्को वर्षदेखि ५०–६० क्विन्टल किबी फल्ने भट्टले बताए । उनले किबीखेती गरिएको क्षेत्रभित्र विभिन्न किसिमका तरकारी पनि फलाएका छन् ।

मल्ल र भट्ट जस्तै डोटीमा किबीखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजारभन्दा बढी किबीका बोट रहेका भन्दै चारवटा फार्म सञ्चालन भइरहेका केन्द्रका प्रमुख अवस्थीले जानकारी दिए ।

जिल्लामा उत्पादित किबीका लागि बजारको समस्या नभएको बताउँदै भण्डारण गर्नुपर्ने अवस्था आएमा डडेल्धुरामा रहेको चिस्यान केन्द्रमा राखिने उनले उल्लेख गरे ।

केन्द्रले किसानलाई बिरुवा काँटछाँटसम्बन्धी तालिम दिने, औजार उपलब्ध गराउने, बजारीकरणमा समन्वयनलगायत सहयोग गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *