१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने

काठमडाौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उक्त सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ ।

नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।

ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेर थालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *