वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गरौँ,विदेशिनुपर्ने बाध्यता हटाऔँ : श्रम मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए ।

बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताए । उनले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए ।

अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए । उनले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको उल्लेख गर्दै सरकारलाई असफल हुने छुट नरहेको बताए ।

उनले भने,‘अहिले विभिन्न भाष्य निर्माण भएको छ । कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वेच्छिक भन्छौँ । कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ । हामीले अवसर सिर्जना गर्नुपर्दछ । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि लिएर सबैकुरा अनुकुल हुँदै जानुपर्छ । त्यो अनुकुल हुँदै गइरहेको छ । यो सरकार जसरी निर्माण भएको छ, कसैले अप्रत्याशित भन्छन्, कसैले अप्राकृतिक भन्छन्, म दुवै कुरा हो भन्छु । तर खासमा कामको लागि हो । सरकार मात्रै बनाउने हिसावले बनेको होइन । कुनैपनि हिसावले यो सरकारलाई असफल हुने छुट छैन ।’

श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *