नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरूसँग अनुरोध गरेका छन् ।
केन्द्रको २८ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताए ।
ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री खड्काले नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले विद्युत्मा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी दिए । केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको उनले बताए ।
देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन् भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले रक्तदान गरेका थिए ।