रास्वपाका सांसद,केन्द्रिय सदस्य सहित ५१ जना प्रहरी नियन्त्रणमा
रास्वपाले भन्यो-संविधान माथिको हस्तक्षेप
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार नजिक विरोध प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरी,केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक पुकार बम,केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौं सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन सहित ५१ जनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ परेका सभापति लामिछानेको रिहाइको माग गर्दै रास्वपाले बालुवाटारमा प्रदर्शन गरेको हो । शान्तीपूर्ण प्रदर्शनका क्रममा प्रहरीले पार्टीका नेता,कार्यकर्ताहरुलाई पक्राउ गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
कार्यवाहक प्रवक्ता झाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध र भ्रष्टाचार विरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ। तर, ति प्रदर्शनमा राज्यले अनावश्यक बल प्रयोग गरेर तनावपूर्ण स्थिति सृजना गर्ने प्रयास गर्दै आइरहेको छ। त्यसको निरन्तरता आज मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम भइरहेको बखत पनि देखियो। प्रहरीले बल प्रयोग गरी रास्वपाका नेता, सदस्य तथा शुभेच्छुकहरुलाई गिरफ्तार गरेको र अनावश्यक दुर्व्यवहार गरेको छ।’
कानुन बमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकहरुको हक/हित संरक्षणका साथै हस्तक्षेप र बल प्रयोग नगर्नु राज्यको कर्तव्य भएपनि त्यसो नगरिएको उनले बताए ।
शान्तिपूर्ण विरोध गर्दा प्रहरीले बल प्रयोग गरी नेता,सदस्य र शुभेच्छुकलाई गिरफ्तार गर्नु स्वतन्त्रताको हकको हनन् मात्र नभई संविधान माथिको हस्तक्षेप भएको कार्यवाहक प्रवक्ता झाले बताए ।
‘शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारविरुद्ध राज्य पक्षबाट भएको दुर्व्यवहार प्रति घोर भर्त्सना गर्दै गिरफ्तार भएका सबैलाई बिना सर्त तत्काल रिहाईको माग गर्दछौँ। शान्तिपूर्ण प्रदर्शनलाई बल प्रयोग गरेर दबाउन खोज्ने सरकारको रबैयाको निन्दा गर्दछौँ। शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक मूल्यमान्यतामा प्रहार गरिरहेकाले अन्यायका विरुद्ध ऐक्यबद्धता जनाउन आम जनसमुदायलाई अपिल सहित नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गर्दछौँ,’कार्यवाहक प्रवक्ता झाद्धारा जारी प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ,‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मुल आधार हो। नेपालको संविधान, २०७२ को धारा १७ ले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने र विचार अभिव्यक्ति गर्ने स्वन्त्रतालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रको प्रस्तावना, अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको धारा १९ लगायतका अन्तर्राष्ट्रिय कानुनले पनि यस अधिकारलाई सुरक्षित गरेको छ।’