फूल खेतीमा जमेका रामबहादुर, बेमौसमी फूलबाट फाइदा (भिडिओ)
काठमाडौँँ । आफ्नो नोकरी (आईएनजिओ) बाट अवकाश भएपछि रामबहादुर सुनुवारले १३ रोपनी जग्गा भाडामा लिएर पुष्पखेती गर्दै आएका छन् । उनी भक्तपुर, चाँगुनारायण– २ मा अवस्थित जेन्युन गड फ्लावर सञ्चालक हुन् । उनले आफ्ना फूलबारीमा जरबेरा, गोदावरी, गुलाफ र सयपत्री जस्ता फुलहरू रोपेका छन् ।
नोकरीबाट अवकाश भएपछि उनी तरकारी खेती गर्ने सोचमा थिए । तरकारी खेतीका लागि विभिन्न ठाउँमा जग्गा खोज्दै गर्दा उनलाई एकजना साथीले फूल खेती गर्न सल्लाह दिए ।
उनलाई उक्त साथीको सल्लाह मन पर्यो । तर फूलखेती कसरी गर्ने, कहाँ गर्ने, कसलाई कन्ट्याक गर्ने भनेर उनलाई केही ज्ञान थिएन ।
उनै साथीले उनलाई गोदावरीमा खेती गरिरहेका कमल सुब्बालाई चिनाइदिए । कमल सुब्बाले उनलाई फूलखेतीबारे सबै ज्ञान दिए । ज्ञान पाएपछि उनी फ्लोरी कल्चर एसोसिएसनमा पनि आबद्ध हुन पुगे । त्यसबेलासम्म उनले फुलखेतीका लागि जग्गा पनि हेरिसकेका थिए । उनले उक्त स्थान फुलखेतीका लागि उपयुक्त छ कि छैन भनेर कमल सुब्बालाई देखाए । सुब्बाले ‘त्यसठाउँ फुलखेतीका लागि उपयुक्त छ’ भनेपछि उनले फुलखेती सुरु गरे ।
त्यसपश्चात् उनले फ्लोरी कल्चर एसोसिएसनले दिने औषधि व्यवस्थापन, फार्म व्यवस्थापन सम्बन्धी तालिमहरू लिए । पहिले उनी आफ्नै घरका गमलाहरूमा मात्र फूल फुलाउँथे । तर अहिले उनले रोपेको फूलहरू माला र बुके हुँदै विभिन्न सहर बजारमा पुग्ने गरेका छन् ।
मौसमी र दीर्घकालीन फूलहरू
जेन्युन गड फ्लावरका सञ्चालक सुनुवारले फूलहरूका जातअनुसार मौसमी र दीर्घकालीन हुने बताए । उनले गुलाफ र कार्नेसन फूलहरू लामो समयसम्म रहने बताए । ती फूलहरू एकपटक रोपेपछि ३, ४ वर्षसम्म फुल्ने उनको भनाई छ । उनले गोदावरी र सयपत्री फुल मौसमी फुल भएको बताए । उनले उक्त मौसमी फूलहरू असार साउनमा रोपिने जानकारी दिए ।
हो ।
उनले भने ‘गोदावरी ३ महिना हो । सयपत्री चैँ पाँच महिनासम्म फुल्छ ।’
व्यवसायी सुनुवारले सयपत्री फुललाई माला बनाएर बेच्ने गरेको बताए । उनले गोदावरीसहित अन्य फुलहरूलाई प्याकेजिङ गरेर मुठा मुठा बनाएर बेच्ने गरेको सुनाए ।
‘एउटा मालाको कति रुपियाँ पर्छ ’ भन्ने प्रश्नमा उनले सिजन अनुसार फूलको मूल्य फरक फरक पर्ने बताए । उनले सिजनमा एकमुठा सयपत्रीको ४०, ५० रुपियाँसम्म पाउने गरेको बताए । ‘त्यस्तै अफ सिजनमा २०–३० रुपियाँ आउँछ ।’ उनले भने ।
फुल बिक्री गर्न तिहार पर्खनु पर्दैन्
व्यवसायी सुनुवारले फुलहरू विक्री गर्न दसै, तिहार जस्ता चाडबाड पर्खनु नपर्ने बताए । उनले हालसम्म तिहारकै लागि भनेर फुल नबेचेको जानकारी दिए । उनका अनुसार यसबेला गाउँघरमा लोकल फुलहरू प्रशस्त फुलि रहेका हुनाले तिहारकै लागि भनेर फूलको नबेचेको बताए ।
उनले भने ‘तिहारलाई भनेर चैँ आएको छैन । यस गाउँमा लोकल फूलहरू प्रशस्त भएको हुनाले यसको माग चैँ खास्सै आएको छैन । आउँछ होला । माग नआए पनि फरक पर्दैन् । हाम्रो यो दैनिक जस्तो जाने फुल हो यो सयपत्री चैँ । तिहारमा नबिक्दा पनि हामीलाई मर्का पर्दैन् ।’
उनले तिहारमा सयपत्री फुलको माग नआए पनि फरक नपर्ने बताए । उनले सयपत्री फुल दैनिक जसो बिक्री हुने फुल भएको बताए ।
फुललाई कसरी बिक्री गर्ने ?
‘होलसेल कन्ट्याक हुन्छ । काठमाडौँमा थुप्रै होलसेलहरू छन् । ती होलसेलहरू आ–आफ्नो कन्ट्याकमा हुन्छ, हामीले चैँ हेलसेललाई दिने हो ।’
उनले बारीमा भएका फुललाई आफ्नो सम्पर्कमा रहेको होलसेलमा बिक्री गरिने बताए । होलसेलमा बेच्दा गोटाको १५, १६ रुपियाँमा आउने उनले बताए । सो पश्चात् रिटेलले नाफा राखेर बेच्ने उनले जानकारी दिए ।
बजारको अवस्था कस्तो छ ?
व्यवसायी सुनुवारका अनुसार सिजनमा फुलहरू सजिलै बिक्री हुन्छन् तर अफसिजनमा भने फाल्नुपर्ने समेत अवस्था आउँछ । उनले भने ‘सिजनमा चैँ राम्रै हुन्छ, अफसिजनमा चैँ फाल्नुपर्ने हुन्छ ।’
उनले सामान्यतया सबै फुल बिक्री राम्ररी हुने बताए । विशेष गरी नेपालमा सयपत्री, गुलाफ र कार्नेसन फुलको बढी बिक्री हुने उनले जानकारी दिए ।
मखमली चैँ किन नरोप्नु भएको ?
व्यवसायी सुनुवारले उपत्यकाको सन्दर्भलाई लिएर मखमली खेती गर्ने किसानहरू भक्तपुरको गुन्डु र ताथली तिर भएको बताए । उनले व्यावसायिक खेती गर्नेहरूका लागि मखमली फूलखेती उपयुक्त नहुने जानकारी दिए ।
उनले भने ‘हामी व्यवसायीक खेतीवालालाई चैँ त्यो हुँदैन किनभने त्यो चैँ अब तिहारको एकदिन मात्र बिक्छ । हामी व्यावसायिकहरूलाई चैँ सधैँलाई हुने चाहियो । त्यही भएर मखमली फूल चैँ । त्यति लाउदैन् ।’
उनले मखमली फूलको माग तिहारमा मात्र हुने हुँदा व्यावसायिक फूलखेती गर्नेहरूका लागि फाइदाजनक नरहेको बताए । उनले यसबाहेकका फूलहरू पूजा र बुकेमा प्रयोग हुने जानकारी दिए ।
बजारको मागलाई स्वदेशी उत्पादनले धानेको छैन ?
स्वदेशी उत्पादनले मात्रै बजारको मागलाई पूर्ति गर्न नसकेको व्यवसायी सुनुवारले बताए । उनले मूल्यमा पनि भारतसँग प्रतिस्पर्धा गर्न नसकेका बताए । उनले हाल सरकारले भारतीय फूलमाथि धेरै नै प्रतिबन्ध लगाएको कारणले स्वदेशी पुष्प व्यवसायीहरूका लागि सहज वातावरण बनेको सुनाए । ‘नेपालको फूलले सिजनमा बाहेक अफसिजनमा पुगेको छ ।’ उनले भने ।
सरकारबाट कस्तो सहयोग पाइरहनु भएको छ ?
फूलखेती मात्र नभएर वास्तवमै कृषि क्षेत्रलाई सरकारको खास्सै ठुलो सहयोग नरहेको सुनुवारले बताए ।
‘पाउनेले पाइरहेका पनि छन् । आफन्त यताउति भनसुन गर्न सक्नेले राम्रै संग पाएको छन् भन्ने यता कता सुनिन्छ । तर फूलखेती मात्र नभएर समग्र कृषि क्षेत्रमा सरकारले खास्सै ठुलो सहयोग गरेको छैन ।’ उनले आफ्नो अनुभव सुनाउँदै भने ‘थोरै सहयोग पाए सुरुमा । मेरो एउटा टनेल छ । त्यो एउटा टनेल चैँ सहयोग पाएको हुँ ।’
फूलखेती गर्न चाहनेहरूलाई सल्लाह
व्यवसायी सुनुवारका अनुसार फूलखेतीका लागि तरकारी खेती भन्दा ठुलो लगानी आवश्यकता पर्दछ । साथै आम्दानी पनि ढिलो हुने गर्दछ । गोलभेँडा खेतीका लागि रु १ हजारको बिउ खरिद गर्दा ३ रोपनीसम्मलाई पुग्छ भने फूलखेतीमा जात अनुसार लगभग दुई देखि तिन लाखसम्म पर्न जान्छ ।
उनले सुरुमा आफूले लगभग १५ लाख लगानी गरेको जानकारी दिए ।
उनले सामान्यतया तरकारी खेतीमा जस्तै फूलखेतीमा पनि किरा र ढुसीहरू लाग्ने समस्या भएको गुनासो गरे । ‘त्यसको लागी औषधी उपचार गरिरहनु पर्ने हुन्छ ।’ उनले भने ।
‘अहिलेसम्म चैँ ठिकै छ, नाफा छ ।’ आफ्ना कुरालाई निष्कर्ष दिँदै उनले भने ।
हाल उनले सञ्चालन गरेको फार्मबाट उनको परिवारसहित अन्य १ परिवारले रोजगार पाइरहेका छन् । उनले अरू बेलामा व्यवसायबाट फाइदा भएपनि कोरोनाको समयमा भने फुलहरू टिपेर फ्याँक्नु पर्ने अवस्था आएको बताए ।
‘दुई वर्ष जस्तो नै हामीले राम्ररी बेच्न पाएनौँ । सुरुको कोरोनाको ५, ६ महिना चैँ हामीले पुरै फाल्नु पर्यो । त्यसपछि अलिअलि बिक्री भयो, त्यसपछि कोरोना सुरु भयो । त्यसबेला फेरी ४,५ महिना फाल्यौँ । त्यसपछि चैँ राम्रै भइरहेको छ । अहिलेसम्म राम्रै भन्नुपर्छ ।’
सरकारलाई सुझाव
उनले सरकारलाई औषधी र मलमा अनुदान उपलब्ध गराइदिन माग गर्दै समयमा मल उपलब्ध गराइदिन पनि आग्रह गरे । उनले फूलखेतीमा फरकखालका मल र औषधिको प्रयाग हुने बताए । उनले तरकारीमा हाल्ने मल भन्दा फुलमा हाल्ने मल एकदमै महँगो पर्ने बताए । उनले एक किलो मलको ८–९ सय रुपैयाँसम्म पर्ने सुनाए ।
उनले भने ‘यो तरकारी जस्तो होइन । फूललाई फरक खालको मल र फरक खालको औषधि लाग्छ । तरकारीमा चैँ सय, २ सय, ३ सय एमएलको औषधिले पुग्छ भने फुललाई चैँ हामीले १०० एमएलको औषधिलाई पनि हजार रुपियाँ तिर्नुपर्ने हुन्छ । १ केजी मलको हामीले ८–९ सय सम्म तिर्नुपर्ने हुन्छ ।’ उनले भने ‘सरकारले हामीलाई पैसा भन्दा पनि वास्तविक किसानको पहिचान गरेर बिउ बिजन र मलमा सहुलियत कर्जा वा अनुदान दिए सहज हुनेथ्यो ।’
हेर्नूहोस् तस्बिरहरू :