समर गेम्सको बक्सिङमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा आज स्वर्ण पदक जितेका छन् । दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे ।

बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी गरेकी थिइन् ।

समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेष्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चनपुर निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।

सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले दुई वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।

जितपछि स्वस्तिकाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुसी व्यक्त गर्दै यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ सङ्घ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद प्रदान गरिन ।

त्यस्तै पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए । सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेका थिए । नोर्बुको भने यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । त्यस्तै उनको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो । कक्षा १२ मा लोयल्टी एकेडेमीमा अध्ययनरत नोर्बुले करिब एक वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जिते । नेपालले समान २–२ स्वर्ण र कांस्य जित्यो । पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे । युनिक राई मात्र पदकविहीन बने । उनले पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *