साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल
काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ । खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ । त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार-दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेकाे हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताए । कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । नेपालले साफ बाहेक समग्रमा ११ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि एउटा पनि उपाधि जित्न सकेको छैन ।
भर्खरै महिला लिग खेलेका र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट फर्ममा छ । सावित्रा भण्डारी साम्बाको तीव्र रनिङ, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशलाई हराउन पर्याप्त हुन्छ ।
पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका घातक हुन सक्छ । जारी साफमा ७ गोल गरेकी रेखाले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन् ।
साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि सात-एक गोलले पराजित गरेको थियो। कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको बताइन् । प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए ।
अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई तीन-एकले हराएर च्याम्पियन बनेको थियो । साफ महिला फुटबलको उपाधि पाँच पटक भारत र एक पटक बंगलादेशले जितेका छन् ।