देश किन डुब्यो ? सिंहदरबार आएर हेर्दा स्पष्ट हुन्छ : बालेन (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको अजिम्मेवारी दिन आग्रह गरेका छन् ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताए ।
उनले विक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए ।
‘वीर अस्पताल पनि उकासिनु पर्छ, सिंहदरबार वैद्यखाना पनि उकासिनुपर्छ । औषधि उत्पादन हुनुपर्यो । औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ, यसले त बेच्छ त । बेच्ने चिज पनि कसरी घाटामा जान्छ,’ उनले भने ‘सरकारले गरिदिनुपर्यो । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दनुपर्यो । महानगरपालिकाले सञ्चालन गर्छ ।’
मेयर साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताए ।
‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ’ उनले भने ।
उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए । उनले ०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताए ।
उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए । उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए ।
सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बतए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए ।
उनले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताए ।
उनले भने– ‘यो सरकारले हाम्रो ९० प्रतिशत सरकारी निकाय कि त लिजमा दिइन्छ, लिजमा दिएर बेचिन्छ, लिजमा दिन सकिएन भने निजी संस्थाको प्रभाव र दबाबमा आएर त्यसलाई डुबाइन्छ । किनभने प्राइभेट मात्रै औषधि खाउन्, प्राइभेट मात्रै उत्पादन खाऔँ । सबै चिज प्राइभेट मात्रै होस् । सरकारले केही पनि नगरोस् भन्ने हामी मान्यतामा रहेको देखिन्छ । ५८/५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ । यहाँको बजेट ५० करोड पनि कम हुन्छ, वास्तवमा भन्दा । पहिला पहिला यो ठाउँमा खालि क्षेत्र धेरै थियो । औषधि धेरै उत्पादन हुन्थ्यो । अहिले जताततै भवन छ, औषधि छैन । दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन ।’
मेयर साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताए ।