एकताको कुरा भनेर पनि धेरै हुने मैले देखेको छैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एकताको कुरा गरेर मात्रै नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भएपनि पर्याप्त नभएको बताए । उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताए ।

उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए । उनले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध हुनुपर्ने बताए । उनले सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

उनले भने ‘हामीले हिजो एकताको कुरा गर्दागर्दै कमरेड मदन भण्डारीका कयौँ कुराहरू र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि चर्चा हामीले नगरेको होइन । तर त्यो पर्याप्त भएन । आज हामीले संकल्प गर्नुपर्ने कुरा के हो भने हामी आफैँ आफैँले सुरु गरौँ । अब यो एकताको कुरा भनेर पनि धेरै हुने मैले चाहिँ देख्या छैन । यहाँ अरू कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरू कति मिल्न सकिने हो ? त्यतिमा मोर्चा बनाएर मिलौँ । त्यो पनि सकिँदैन । खासखास इस्युहरुमा कार्यगत एकता गरौँ । तर मिल्नुपर्ने सबैभन्दा ठुलो कुरा आफ्नै पार्टी कसरी सही विचारको आधारमा एकताबद्ध गर्ने रु र सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्यो भने त्यहीँबाट अरूलाई पनि एकताबद्ध गर्ने प्रक्रियाको सुरुवात हुनसक्छ । इतिहास र घटनाक्रमले तपाईँ हामीलाई यही सिकायो ।’

अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *