सरकारको आलोचना गर्न पत्रकारहरूलाई सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको आलोचना गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।
बुधवार नेपाल पत्रकार महासंघले दसैँ, तिहार, छठ पर्व र नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरूलाई सरकारको स्वस्थ आलोचना गर्न आग्रह गरेका हुन् ।
उनले पत्रकारको आलोचनाले सरकारलाई लोकतान्त्रिक बाटो हिँड्न मद्दत गर्ने बताए । उनले पत्रकारको आलोचनाले मन्त्रीहरूले गलत काम गर्न रोक्ने भन्दै त्यो भुमिका निभाउन पत्रकारहरूलाई आग्रह गरे । उनले सरकारले पत्रकारहरूबाट आलोचनाको अपेक्षा राखेको बताए । आलोचना सुन्ने क्षमता राख्नेले कहिल्यै पनि कमजोर काम नगर्ने उनको भनाई छ ।
उनले भने ‘सरकारलाई जनताको लागि काम गर तिमी, अभावमा बसिरहेका मान्छेहरूको सेवा गर तिमी भन्नुपर्यो । सरकारको प्रवक्ताको हैसियतले म तपाईँहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईँहरूले सरकारलाई आलोचना गर्नुपर्छ । तर ध्वसांत्मक विरोध होइन । यो कानुन मिच्न मिलेन भन्दिनुस् न तपाईँहरूले । कुन कुन मन्त्री रिसाउँछ मलाई थाहा छैन । तर सरकारको आलोचना गर्नुपर्छ तपाईँहरूले । डराओस् । कुनै चिज गर्दाखेरि यो पत्रकारले आलोचना गर्छ कि, पत्रकारिताले, सञ्चार जगतले मेरो आलोचना हुन्छ कि ? भनेर कमसेकम मानिस या त कन्भिन्स्ले काम गर्छ । या त डरले काम गर्छ । तपाईँहरूले लेखेर कम्भिन्स् गर्न सक्नुहुन्न मलाई अहिले । तपाईँहरूले दबाबमा राख्ने हो । यो पत्रकारले आलोचना गर्याे भने मेरो जागिर धरापमा पर्छ भन्ने सेन्स दिइराख्यो भने त्यो डरबाट पनि मानिस गलत काम गर्नबाट पछि हट्छ । त्यो काममा तपाईँहरूको भुमिका महत्त्वपूर्ण होस् भन्छु मैले । जसले आलोचना सुन्छ, सुन्ने हैसियत, क्षमता राख्छ । त्यो कुरामा विश्वास गर्छ । त्यसले कहिलेपनि कमजोर काम गर्दैन । भ्रष्टाचार मा पनि लाग्दैन थियो । खुला समाजको पक्षपाती हुन्छ जहिल्यै पनि त्यो । त्यो अधिनायकवाद, निरंकुशताको बाटो कहिल्यै पनि जाँदैन । त्यसकारणले हाम्रो सरकार अहिले आलोचनाको अपेक्षा गर्छ । ताकि उसले हिँड्ने बाटो लोकतान्त्रिक बाटो होस् । अधिनायकवादी बाटो होइन ।’
उनले पत्रकारहरूले सरकारको आलोचना गरे सरकार निरंकुशताको बाटो नलाग्ने बताए ।