तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत प्रयोग गरेपनि हुन्छ : कुलमान घिसिङ (भिडिओ)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन् ।
कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि पर्याप्त विद्युत भएकाले तिहारमा जतिसक्दो बढी विद्युत प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन । उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए ।
उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत आयात गर्नुपर्ने अवस्था नरहेको बताए ।
उनले सकेसम्म तिहारमा विद्युत पु¥याएर निर्यात समेत गर्न पुग्ने विद्युत प्राधिकरणसँग रहेको बताए ।
घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको बताए ।
उनले अधिकांश जलविद्युत आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले अहिले पनि २१ सय मेगावट विद्युत उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताए । उनले यो वर्ष बाढी पहिरोका कारण जलविद्युत आयोजनाहरुमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने– ‘मुख्य गरेर यो वर्ष वर्षातको कारण आएको बाढी पहिरोको कारणले जलविद्युत क्षेत्रमा ठूलो क्षति पुगेको छ । प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ । तामाकोशी ४६५ मेगावट अहिले पनि आउट छ । प्रशारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिव २ सय मेगावटको आयोजनाहरु आउट छन् । करिव ७ सय मेगावटका जलविद्युत प्रणाली भन्दा बाहिर छन् । एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन । त्यसबाट राजश्व संकलनमा ठूलो घाटा भएको छ । मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ । यति हुँदा पनि हामीलाई पुग्ने विद्युत उत्पादन छ । करिव २ हजार एक सय मेगावटको उत्पादन अहिले छ । तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ । दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ । तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ । अहिले पनि हामीले निर्यात गरिरहेका छौँ । यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो । १२ सय मेगावट विद्युत निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढी पहिरो गयो । तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत उत्पादन हुन्छ । तिहारको लागि विद्युत आयात गर्नुपर्दैन । बढी पनि हुन्छ । कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन । तिहारमा विद्युत जति प्रयोग गर्न सकिन्छ सबैले प्रयोग गर्नु अनुरोध गर्दछु ।’
घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए । २०७३ सालको तिहारमा लोडसेडिङ बिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ ।