हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । द हङकङ सिक्सेसमा इङ्ग्ल्याण्डलाई हराएको नेपालले दोस्रो खेलमा अस्ट्रेलियालाई पनि पराजित गरेको छ । अपराजित रुपमा क्वाटरफाइनल प्रवेश गर्ने क्रममा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको रनको लक्ष्य १ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा नट आउट ५५ रन बनाए । एलेक्स रोसले १४ रन बनाए । चौथो ओभरको पहिलो बलमा प्रतिसले अस्ट्रेलियाका कप्तान ड्यान क्रिस्टियनलाई आउट गराए । चौथो ओभरको अन्तिम बलमा प्रतिशले रोसलाई आउट गराए ।

पाँचौ ओभरको अन्तिम बलमा लोकेश बमले फावेद अहमदलाई ८ रनमा आउट गराए । अस्ट्रेलियाका साम हेजलिटलाई नेपालका प्रतिस जिशीले पहिलो ओभरमा नै आउट गराएका थिए । नेपालका लागि प्रतिसले २ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिए । लोकेश बम र विवेक यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्काको सहयोगमा नट आउट ५१ रन बनाए । सन्दीप ५१ रन बनाउँदै रिटार्यट भएपछि क्रिजमा आएका विवेक यादवले ४ बलमा २ छक्काको सहयोगमा १२ रन बनाए । लोकेस बमले १३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३३ रन जोडे । राशिद खानले २ बलमा २ छक्काको सहयोगमा नट आउट १२ रन जोडे । अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए ।

दुवै टोलीले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेका थिए ।  पुल ‘बी’ मा अस्ट्रेलिया र इंग्ल्यान्ड दुवैलाई हराउँदै नेपाल समूह विजेतासमेत बनेको छ । नेपालले आजै १ः३५ मा हुने क्वाटरफाइनल खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *