ओली सरकारलाई सफल बनाउने जिम्मा मेरो : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा जुनसुकै देशमा पनि सरकारको आलोचना हुने बताएका छन् ।
उनले विपक्षी पार्टीहरूले सरकारको आलोचना गर्नु स्वाभाविक भएको उल्लेख गरे । आलोचनालाई खराब नमानेको र त्यसलाई तथ्यपरक ढङ्गले सरकारले ध्यान दिने उनको भनाइ थियो ।
भक्तपुरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताए ।
सभापति देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे । सरकारलाई आइपर्ने समस्या समाधानका लागि आफ्नो तर्फबाट पुरापुर सहयोग रहने उनले उल्लेख गरे ।
उनले भने ‘केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकारले राम्रो काम गरिरहेको छ, हामी सरकार भएको कारण मात्रै भनेको होइन, प्रधानमन्त्री ओलीले साँच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ, आगामी दिनमा पनि यस्तै राम्रा काम गर्दै जानु हुनेछ ।’
उनले विपक्षीबाट आएका आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनु पर्ने औँल्याए ।
संयुक्त सरकार बनेपछि पार्टी पङ्क्ति पनि खुसी रहेको बताउँदै उनले वर्तमान सरकारलाई सफल बनाउन काँग्रेस लाग्ने र सहमतिअनुसार नै सरकार सञ्चालन हुने उल्लेख गरे ।