सिटी र आर्सनल स्तब्ध, जित रच्दै लिभरपुल शीर्षमा

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा न्यूक्यसलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा खेलको १२औं मिनेटमा अलेक्जाडर इसकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि न्यूक्यासलको १० खेलमा १५ अंक भएको छ र लिगमा नवौं स्थानमा छ । त्यसैगरी आर्सनलको १० खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छन् ।

यस्तै म्यानचेस्टर सिटी बोर्न माउथसँग २-१ गोल अन्तरले पराजित भएको छ । बोर्नमाउथको जितमा एन्टोनी सेमेनयो र इभानिल्सनले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि जोसको गाभर्डिओलले एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १० खेलमा १५ अंक भएको छ र लिगमा आठौँ स्थानमा छ । म्यानचेस्टर सिटीको भने १० खेलमा २३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

उपाधिमा होडमा रहेका सिटी र आर्सनलको हारले लिभरपुललाई भने फाइदा भएको छ । लिभरपुलले ब्राइटनविरुद्ध शनिबार पुनर्आगमन जित रच्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुल फेरडी काडिग्लुको गोलले पछाडि परेको थियो । त्यसपछि उसका लागि कोडी गाक्पोले बराबरी गोल फर्काए भने मोहमद सलाहले विजयी गोल गरे । अब लिभरपुलको १० खेलबाट २५ अंकका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *