रवि लामिछानेलाई आज फेरि अदालत लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।
पार्टी कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरेको हो ।
सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् । गोर्खा मिडिया ग्रुपकै अर्का सञ्चालक छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराउने छ । यसैबीच रुपन्देहीमा पनि लामिछानेविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई त्यहाँ पनि लगिने छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई उपस्थित गराइदिन पत्राचार गरिसकेकाले कास्कीमा अदालती प्रक्रिया सकिएपछि त्यता लगिने छ ।