छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौँ । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित सडकमा बा.प्र०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै अर्घाखाँची, भुमिकास्थान नगरपालिका–५ जयठाटीमा ना.३ ख २४७१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बाटोमा भैलो खेलिरहेका भुमिकास्थान नगरपालिका–६ फुलबारी बस्ने २२ वर्षीया तारा श्रेष्ठ र सोही नगरपालिका–२ ढाकावाँङ बस्ने ७० वर्षीया रूनी खनालको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य २१ जनाको सोही अस्पतालमा र ९ जनाको चौराहा अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
अर्काे चितवन, भरतपुर महानगरपालिका–१ रामनगरस्थित सडकमा बा.३ ख ९०७६ नम्बरको बस र ना.५९ प १७८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने ५४ वर्षीय धन प्रसाद भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मकवानपुर, बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षीया गंगा पहरीको सोमबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएमसि चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रोल्पा, सुनछहरी गाउँपालिका–५ थनवाङस्थित सडकमा पनि रा.६ प ४०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–१ झम्की बस्ने २८ वर्षीया खुनो बिकको घटनास्थलमै मृत्यु भएको छ ।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, रतुवामाई नगरपालिका–१० पबित्र चोकस्थित सडकमा ना.४ ख ०१३ नम्बरको बस र प्र.१–०१०–१४ प २४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका–५ बस्ने २८ वर्षीय संदेश गौतमको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएको उनको आर्या न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते
भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, धनपालथान गाउँपालिका–२ कुश्मास्थित सडकमा ललियाबाट नोचातर्फ जाँदै गरेको प्र.१–०२–०३४ प ३१६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया चन्द्रिका ऋषिदेवको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका–८ बिसनपुरस्थित सडकमा बयल गाडाले च्यापिएर सडक छेउमा खेल्दै गरेका सोही ठाउँ बस्ने भधई कोहारकी छोरी २ वर्षीया मुस्कान कोहारको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।