गोल्डेन ड्रागन च्याम्पियनसिपमा भाग लिन भूपेन्द्र अमेरिका जाने
काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५ औं संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ बुधबार अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने भएका छन् ।
क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्ने छन् ।
ट्रेडिसनल चाइनिज मार्सल आर्टस फेडरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
भूपेन्द्रलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई र आदिवासी खेलकुद संघ नेपालका प्रशिक्षक इजिकेल परियारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।