साढे ५ किलो बढी सुन त्रिभुवन विमानस्थलमा बरामद, चिनियाँसहित ३ विदेशी नागरिक पक्राउ
काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका उनीहरूलाई सुनसहित नियन्त्रणमा लिइएको उनले बताए । सहप्रवक्ता थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब सुन फेला परेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले उनीहरूलाई निमन्त्रणमा लिएको हो । सुनसहित नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको डीएसपी थापाको भनाई छ ।