स्विङ स्टेटमा ट्रम्पको अग्रता, ह्यारिसले गरिन् सम्बोधन स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपतिकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो सम्बोधन स्थगित गरेकी छन् ।

यसअघि ह्यारिसले समर्थकलाई सम्बोधन गर्ने निर्णय गरेकी थिइन् । तर, प्रारम्भिक रुझानअनुसार आफू प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पभन्दा पछि परेपछि उनले सम्बोधन स्थगित गरेकी हुन् ।

ह्यारिस–वाल्ज अभियानका सह–अध्यक्ष सेड्रिक रिचमन्डले चुनावी नतिजा आउने क्रम जारी रहेकाले ह्यारिसले भोलि मात्र सम्बोधन गर्ने बताएका छन् ।

रिचमन्डले भने, ’हाम्रो प्राथमिकता भनेको चुनावी प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम राख्नु हो । अहिले पनि धेरै महत्त्वपूर्ण राज्यहरूको अन्तिम नतिजा आएको छैन र प्रत्येक मतको सही गणना हुनु आवश्यक छ । यसैले, उपराष्ट्रपति ह्यारिसले आज सम्बोधन नगर्ने निर्णय गर्नुभएको हो ।’

प्रमुख स्विङ स्टेटमा ट्रम्पको अग्रता

सीएनएनको प्रक्षेपण अनुसार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महत्त्वपूर्ण स्विङ स्टेट—उत्तर क्यारोलिना र जर्जियामा अग्रता लिएका छन् ।

यी राज्यहरूको जितले चुनावी समीकरणमा महत्त्वपूर्ण प्रभाव पारेको छ । तर रिचमन्डले नतिजालाई यकिन गर्न हतार नगर्न आग्रह गर्दै भने, ’मतगणना अझै जारी छ र सबै पक्षबाट निष्पक्षताका साथ हामीले हेरिरहेका छौं ।’

सीएनएनको पछिल्लो नतिजाअनुसार ट्रम्पले २४६ इलेक्टोरल कलेज सुनिश्चित गर्दा ह्यारिसले भने जम्मा २१० सिट मात्र सुनिश्चित गरेकी छन् ।–एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *