७६ जिल्लामा पुग्यो डेंगु,गण्डकी प्रदेशमा मात्रै ५० प्रतिशत बढी संक्रमित
काठमाडौं । डेंगुको प्रकोप विगतका वर्षहरु भन्दा कम भएपनि जोखिम कम भएको छैन । जनवरी महिना यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको रिपोर्टअनुसार २८ हजार २१२ जनालाई डेंगु संक्रमण भएको छ ।
४० औं हप्ताको गणना र तथ्यांकलाई आधार मानेर हेर्दा गत वर्षको तुलनामा कम केस दर्ता भएका छन् । अहिलेसम्म डेंगु ७६ वटा जिल्लामा देखिएको स्वास्थ्य तथा जसंख्या मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताए ।
उनले हुम्ला बाहेकका सबै जिल्लामा डेंगु संक्रमित बिरामी फेला परेको बताए । डेंगुबाट यस वर्षको जनवरी यता १२ जनाको मृत्यु भएको छ । अक्टुबर महिनामा ९ हजार ६६६ संक्रमित फेला परेको बताए ।
७६ जिल्लामा पुग्यो डेंगु, १२ जनाको मृत्यु
मन्त्रालयमा रपोर्टेट प्रतिवेदनअनुसार यो वर्ष हाम्रो ४० औं हप्ताको रिपोर्ट हो । जनवरीबाट शुरुवात गर्दछौँ । जनवरीबाट ४० औं हप्तासम्म आउँदा डेंगुको रिपोर्टेट केस भनेको २८ हजार २१२ केस छ । जसमा डेंगु वा डेंगुसँग सम्बन्धित १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म ७६ वटा जिल्लामा डेंगु देखिएको छ ।
अक्टुबर महिनामा ९ हजार ६६६ केस रिपोर्टेट भएको छ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्षको अक्टुबरमा १२ हजार ६९९ केसहरु हामीलाई रिपोर्ट भएको अवस्था थियो । हुम्ला बाहेकका सबै जिल्लामा देखिएको छ ।
गण्डकी प्रदेशमा देशभरकै ५० प्रतिशत डेंगु संक्रमित
विशेष गरी अलि धेरै देखिएको भनेको गण्डकी प्रदेशमा हो । जति केसहरु देशभर देखिएका छन्, त्यसको झन्डै ५० प्रतिशत केस गण्डकी प्रदेशमा मात्रै छ । त्यसपछि वागमती, कोशी र अरु प्रदेशमा अलि कम देखिन्छ ।
जिल्लाको हिसावमा सबैभन्दा धेरै कास्की जिल्लामा, काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा अलि धेरै डेंगुका केस रिपोर्ट भएका छन् ।
बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको जोखिम बढी
बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यसलाई हामीले शहरी लामखुट्टे पनि भन्छौँ । बुझ्दाबुझ्दै मानिसले बेवास्ता गरेको हिसावमा पानी जमेको ठाउँले गर्दा यो फैलिरहेको छ । अर्को कुरा यसको लार्भाहरु, संक्रमित अण्डाहरु रह्यो भने त्यो चिज पछि फेरि वयस्क हुने बेलामा त्यो संक्रमित छ भने संक्रमित नै रहने भयो ।
त्यसले गर्दा अलि फैलावट बढी भएको हो । तथ्यांकको आधारमा भन्ने हो भने पोहोर जनवरीदेखि डिसेम्बरसम्मको पिरेडमा झन्डै ५२ हजार केस रिपोर्टेट थियो ।
अहिलेसम्मको अवस्थामा हेर्ने हो भने अक्टुबर महिनामा पोहोर १२ हजार ६९९ केसहरु थिए भने यो वर्षमा अक्टोबरमा ९ हजार ६६६ केसहरु रिपोर्टेट छन् ।
१२ महिनाको तुलना गर्ने हो भने कुनैपनि महिना पोहोरको भन्दा बढी भएको छैन । तर त्यो कटेको छैन भनेर ढुक्क हुने अवस्था छैन । हामीले यसको लागि सावधानी अपनाउनु पर्छ ।
सावधानी सबैभन्दा बढी अपनाउने भनेको यही सिजन हो । पानी पर्यो, अझै केही दिन यो फैलिनसक्ने सम्भवना रह्यो । यो बीचमा धेरै पानी पर्यो, बाढी, पहिरो पनि गयो । पानी जमिरहेको अवस्था छ अहिले पनि । संक्रमण अझै केही समय रहनसक्ने अवस्था रहन्छ ।
व्यवहार परिवर्तन नगर्दा संक्रमण बढिरहेको छ
स्वास्थ्य मन्त्रालयले डेंगु लागिसकेपछि डेंगुको उपचार र व्यवस्थापनको चिजमा मन्त्रालयअन्तर्गतका सबै अस्पतालहरुबाट सेवा प्रवाह गर्ने काम गरिरहेको छ ।
डेंगु हुन नदिनको लागि गर्नुपर्ने एउटै मात्र स्टाटेजी हामीले भनिरहेका छौँ । खोज र नष्ट गर अभियानमा जानुपर्छ । स्वास्थ्य स्वयंसेविका, स्थानीय तहमा भएका सम्पूर्ण स्वास्थ्य संस्थाहरु, प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थाहरु, संघ अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट यो म्यासेज दिइरहेका छौँ । विभिन्न मिडियाबाट पनि गइरहेको छ । संघ र प्रदेश लगायतका सबै अस्पतालबाट हामीले डेंगु लगायतका उपचार गरिरहेका छौँ ।
डेंगु लाग्यो भन्ने पत्ता लागेपछि उसलाई सरकारी अस्पतालबाट निःशुल्क उपचारको पनि व्यवस्था भएको छ । यो मन्त्रीस्तरबाट, सचिव स्तरबाट, प्रदेश स्तरबाट, जहाँ धेरै प्रभावित छ त्यहाँ ठाउँमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने, आम मानिसमा सचेतना फैल्याउने काम गरेका छौँ । व्यवहार परिवर्तन केही कठिन बन्दा चाहेको जति रौक्न कठिन भएको छ । यसमा सबैको सहकार्य आवश्यक छ ।
पानी जम्ने र ओसिलो ठाउँ राख्नु हुँदैन
आकाशबाट पानी परेपछि पानी जम्ने जुन समय छ, त्यो समयमा लामखुट्टेको बासस्थान एकदम स्विटेबल टेम्प्रेचर भएको र सिजन पनि भएको कारणले त्यो धेरै ठूलो पोखरीहरुमा जमेको पानीमा होइन ।
साधारण किसिमको जस्तो टायर होला, भाँडाको बिर्कोहरु, गमला, एसी पछाडि, फ्रिज पछाडि होला, छानाहरु हुनसक्लान् । घरमा पानी जम्मा गरेको ड्रममा पनि हुनसक्छ । यो चिजहरुमा पानी जम्मा हुन्छ । त्यो चिजमा लामखुट्टेले डेंगु प्रजातीको एडिज भन्ने हुन्छ । त्यसले फुल पारेर फुल त्यहाँ पर्यो भने र त्यो संक्रमित यदी छ भने संक्रमितले फुल पार्छ ।
संक्रमित भएको सबै अण्डामा पनि त्यो संक्रमण फैलिन्छ । यो रोक्न अलि कठिन भएको कारण पनि त्यही नै हो । हामीले पोस्ट मनसुनको सयमा बाहिर खुला ठाउँमा, पानी जम्ने ठाउँलाई घोप्ट्याइदिनु नै सबैभन्दा बेटर हो ।
डेंगुबाट बच्नका लागि पानी जम्मा गरिएका पानीका ट्याङ्की,ड्रम, गाग्री, बाल्टिन जस्ता सामग्रीलाई लामखुट्टे छिर्न नपाउने गरी छोपिदिनुपर्छ । आफ्नो र वरपर, सार्वजनिक स्थल, कार्यालयमा भाँडाकुँडा, जुसका बोत्तलहरु खाएर जथाभावी फाल्नुभएन ।
छानाहरमा जथाभावी रुपमा फालिएका टायरहरु हुनसक्छ । शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ, डेंगु संक्रमण हुनबाट बच्न । डेंगुका कारण नियमित स्वास्थ्य सेवाहरु प्रभावित भएका छैनन् ।