नायिका खड्का ‘कर्णाली याक्स’को प्रवर्द्धन दूतमा नियुक्त,भनिन् – खेल हेरेर रमाउन थालेकी छुँ
काठमाडौं । आगामी मंसिर १६ देखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिय (एनपिएल) आयोजना हुँदैछ । ८ टोलीले भाग लिएको यस लिगमा कर्णाली याक्स पनि समावेश छ ।
यसैबीच आज आयोजित एक समारोहकाबीच नायिका स्वस्तिमा खड्का कर्णाली याक्सकी प्रवर्द्धन दूतका रुपमा नियुक्त भएकी छन् । खड्कालाई ‘फेस अफ द कर्णाली याक्स’को रुपमा नियुक्त गरिएको हो ।
यस विषयमा नायिका खड्का स्वयंले फेसबुकमार्फत् जानकारी गराएकी छन् । उनले एक लामो स्टाटस लेख्दै खेलसँग जोडिएको अनुभव बाँडेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘केही वर्षअघिसम्म खेलप्रति मेरो बुझाइ काँचो थियो । कोही किन खेल्छ ? कोही किन खेल हेर्छ ? म सोच्थें− उनीहरू आफ्नो रहर पूरा गर्दै छन् । वा खेलको प्राविधिक पक्षबारे उनीहरू पूर्ण जानकार भएर खेलिरहेका वा हेरिरहेका छन् । या, खेल्नु उनीहरूको ’प्यासन’ हो । हेर्नु उनीहरूको ’प्यासन’ हो ।केही वर्ष लाग्यो– खेलप्रति मेरो काँचो बुझाइ बिस्तारै पाक्दै गयो । खेलको आयतन मैले सोचेभन्दा कैयन ठूलो र फराकिलो रहेछ । यो ढिलो बुझें तर सही बुझें ।व्यक्तिको मात्रै होइन, खेलले समाज र राष्ट्रको पनि सशक्तीकरण गर्छ । आफ्नो मुलुकलाई अरू मुलुकसामु ठिंग उभिन सक्ने बनाइदिन्छ । खेल्ने खेलाडी र हेर्ने दर्शकबीचको आत्मीयताले संसारका सबैखाले सीमारेखाहरू मेटिदिन्छ । कीर्तिपुरको टीयू मैदानदेखि टेक्सासको ड्यालस मैदानसम्म झन्डा बोकेर संसार बिर्सिने नेपालीहरू देख्नुभएको छ ? आस्थाका आधारमा अनेक ध्रुवतिर छरिएका (विश्वभरका) नेपालीहरू मैदानमा बज्ने एउटै लय र धुनमा रमाइरहेको देख्नुभएको छ ? भाँचिएका मन जोड्ने माला त्यही खेल नै त रहेछ । मनहरू जोड्ने योभन्दा सशक्त अस्त्र अरू के छ ?
त्यसैले त अचेल म चाहे मैदान पुगेर होस्, चाहे स्क्रिनअघि− खेल हेरेर रमाउन थालेकी छु । मन पर्ने टिम र देशले जित्दा खेलाडीहरूसँगै रमाउँछु । हार्दा उनीहरूसँगै उदास हुन्छु । म जानीनजानी खेलसँग त्यसैगरी जोडिएकी छु, जसरी कर्णालीसँग वर्षौंदेखि जोडिएकी छु । मेरो जीवनका असाध्यै निकट सम्बन्धहरू कर्णालीले जन्माएको छ । कलाकारको आँखाबाट हेर्दा पनि कर्णालीको संस्कृति, भाषा, रीतिरिवाजले मलाई सधैं आकर्षित गर्छन् । त्यहाँका पात्रहरूमा अक्सर म आफूलाई पाइरहन्छु । राजनीतिक रूपमा ’हेपिएको’ र ’पिछडिएको’ विम्ब बोकेर कर्णालीले सधैं आफूलाई लघुताभाषमा लुकाइरह्यो । तर, अहिले कर्णाली मुलुकको मानचित्रमा आफ्नै पौरख बोकेर ठिंग उभिएको छ । जसरी नेपाली टोली अस्ति अमेरिकाको मैदानमा उभिएको थियो ।कर्णालीका याकमात्रै होइनन्, खेलाडी पनि जब्बर छन् ।मलाई पनि टिममा जोड्ने कर्णाली याक्स प्रति आभारी छु ।’