छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका–२९ सत्र किलोस्थित सडकमा बा.प्र.०६–००१ ज ०२९८ नम्बरको हाइस र बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा हाइसमा सवार गोरखा आरूघाट गाउँपालिका–१ मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरूङ समेत ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सप्तरी, डाक्नेश्वरी नगरपालिका–९ मुत्नी खोलास्थित सडकमा प्रदेश २–०३–१० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक रूपनी गाउँपालिका बस्ने २५ वर्षीय रामानन्द रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ ।
यसैगरी सप्तरी, कंचनरूप नगरपालिका–८ बेरियरचोकस्थित सडकमा बागमती प्रदेश–०१–००६ ख ५९४४ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, लमही नगरपालिका–४ अर्नवास्थित सडकमा रा.५ प ४३९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय नकुल सिंह ठकुरीको मृत्यु भएको छ । बिहीबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापा, गौरीगंज गाउँपालिका–३ ठेकिटोलास्थित सडकमा मे.८ प ८८९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने ३० वर्षीय रोशन मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका–४ मटेरिया चोकस्थित सडकमा भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार बाँसगढी नगरपालिका–८ ककौरा बस्ने ५९ वर्षीय दीर्घ नारायण पंगेनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।