ट्रम्पले नियुक्त गरे ’चीफ अफ स्टाफ’, को हुन् सुजी वाइल्स ?
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थालेका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई ’चीफ अफ स्टाफ’ नियुक्त गरेका हुन् ।
अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ। देशको इतिहासमा उक्त पदमा पुग्ने उनी प्रथम महिला हुन् ।
रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापकमध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्न पाउने पदाधिकारीमध्ये प्रथम व्यक्ति हुन् ।
सुजी वाइल्स को हुन् ?
चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमहरूले सुजीलाई “अरूले निकै कम थाहा पाएका र डर मान्ने राजनीतिज्ञ भनेका छन् ।
’पोलिटिको’लाई गत एप्रिलमा दिएको निकै दुर्लभ अन्तर्वार्तामा उनले आफू निकै “परम्परागत पृष्ठभूमिबाट” आएको बताएकी थिइन् ।
उनले राजनीति सुरु गरेको एक वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनको चुनावी अभियानमा काम गरेकी थिइन् ।
सन् २०१० मा उनले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई सात महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन् ।
स्कट अहिले अमेरिकी माथिल्लो सदनमा सिनेटर छन् ।
ट्रम्पसँग उनको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भयो । उनी फ्लोरिडाको चुनावी अभियानको सह–अध्यक्ष भइन् । ट्रम्पले सन् २०१६ मा उक्त राज्यमा हिलारी क्लिन्टन भन्दा १.६ प्रतिशत धेरै मत ल्याएका थिए ।
आफू गभर्नरको उम्मेदवार हुँदा वाइल्सलाई आफ्नो अभियानको नेतृत्व दिएका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उनको प्रशंसा गर्दै वाइल्सलाई यो कामका लागि सबैभन्दा उत्कृष्ट भनेका थिए ।