अछाममा रक्सीले मात्तिएका असइ स्थानीयबाट कुटिए
काठमाडौं । अछाममा कार्यरत रहेका एक प्रहरी सहायक निरीक्षक (असइ)लाई स्थानीयले कुटपिट गरेको खुलेको छ । तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह धामीलाई स्थानीयले कुटपिट गरेका हुन् ।
गत कार्तिक १४ गते राति असई धामी ड्युटीको समयमा मातहतको कुनै पनि प्रहरीलाई खबर नगरी २ किलोमिटर टाढाको गाउँमा एक्लै पुगेका थिए । मदिराले मातिएका धामीले होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको हो ।
घटनामा प्रहरी सहायक निरीक्षक धामी घाइते भए पनि यो घटना बाहिर कतै सार्वजनिक नगरिएको पाइएको छ । चाडपर्वका बेला जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट अमर्यादित हर्कत भएपछि स्थानीयले यसको प्रतिवाद गरेको बताइएको छ । उनीमाथि कुटपिट भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै पनि जानकारी नभएको बुझिएको छ ।