स्थानीय तह उपनिर्वाचन : २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्दै
आयोगको तयारी अन्तिम चरणमा
काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । नगर प्रमुख,गाउँपालिका अध्यक्ष देखी वडाध्यक्षस रिक्त रहेका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुन गइरहेको हो । दुई वटा जिल्ला समन्वय समिति समेत गरेर ४४ स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच निर्वाचन आयोगले सोमबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्ने छन् ।
निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली सार्वजनिक
जिल्ला समन्वय समिति बाहेक ४२ वटा स्थानीय तहमा महिला मतदाता १ लाख ११ हजार ८ सय ९६,पुरुष मतदाता १ लाख १४ हजार ९ सय र १ सय ८८ अन्य मतदाता गरी कूल मतदाता २ लाख २६ हजार ७ सय ९९ रहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।स्थानीय तह उपनिर्वाचनका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र रहेका छन् ।
आयोगको तयारी अन्तिम चरणमा पुगेको आयोगका सुचना अधिकारी सुमन घिमिरेले मकालुखबरलाई जानकारी दिए । निर्वाचन अधिकृतको नियुक्ती भइसकेको बताउँदै बुधवारदेखी तालिम सञ्चालन हुने अधिकारीले बताए ।
‘मतदाता नामावली पनि आजबाट प्रिन्ट भइरहेको छ । निर्वाचन अधिकृतको नियुक्ती भइसकेको छ,उनीहरुको तालिम पर्सीबाट हुन्छ,सुचना अधिकारी घिमिरेले मकालुखबरसंग भने,आयोगको तयारी अन्तिम चरणमा पुगेको छ ।’
स्थानीय तह उपनिर्वाचनका लागि २४ करोड माग गरिएपनि सरकारले १२ करोड मात्रै उपलब्ध गराएको आयोगका सुचना अधिकारी घिमिरेले बताए । उपनिर्वाचनका लागि मौज्दात रहेकै सामाग्री प्रयोग गरिने उनको भनाई छ ।
उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते हुँदैछ । मंसिर १३ गते राति १२ बजेदेखी (मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि) निषेधित अवधि लागू हुने छ भने मंसिर १६ गते विहान ७ बजेदेखी ५ बजेसम्म निर्वाचन हुनेछ ।
उपनिर्वाचनमा भाग लिनका लागि २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भई तयारीमा जुटिसकेका छन् । दलहरु अहिले उम्मेदवार छनौटमा व्यस्त छन् ।
निर्वाचन कार्यक्रम