पुङ्दी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो

चितवन । भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्दी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।

महानगरको गौरवको आयोजनाका रूपमा रहेको पुङ्गी खोलाको सौन्दर्य करण कार्य गर्दै आइरहेको छ । भरतपुरको वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई छ दशमलव ६५ किलोमिटर रहेको छ । खोलाको दायाँबायाँ वृक्षारोपणलगायत बिहानी र साँझको हिँडाइ गर्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ ।

आज अतिक्रमित संरचना हटाउने क्रममा वडा नं ३ र ४ को सीमाका घरटहरा भत्काउन सुरु गरिएको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरणका लागि १० करोड ८० लाखको ठेक्का लगाइसकेको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए ।

यसअन्तर्गत एक दशमलव पाँच किमीमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नं ४ मा पर्ने पुङ्गी खोलाको दोभानबाट करिब पाँच सय मिटरको काम सम्पन्न भइसकेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको बताइन् । पुङ्गी खोला विकास तथा सौन्दर्य करण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट समेत छ करोड ६५ लाख बजेट छुट्याइएको छ ।

वर्षाको समयमा काम गर्न असहज हुने भएकाले हिउँदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको प्रमुख दाहालले जानकारी दिइन् । उनले अबको तीन वर्षभित्र खोलाको मुहानसम्म सौन्दर्यकरणका काम हुने बताइन् ।

बढ्दो सहरीकरणले भरतपुरमा वर्षाको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुङ्गी र केरुङगा खोलाको सौन्दर्य करण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको दाहालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *