धर्मगुरुले कोइरालालाई भने-तपाईं जत्तिको इमान्दार नेता कोही छैन,मुलुकको बागडोर सम्हाल्नुस्
काठमाडौं । गत आइतबार इलामको सन्दकपुर – ४ मा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १४० औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागि भएका थिए,नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा.शेखर कोइराला ।
किरात धर्मगुरु आत्मानन्द लिङ्देनको निमन्त्रणामा कोइराला इलाम पुगेका हुन् । पहिले उक्त कार्यक्रममा राजा,प्रधानमन्त्री र सभामुखलाई मात्रै बोलाइन्थ्यो । तर,यसपटक भने उनीहरुलाई नबोलाएर डा.शेखर कोइरालालाई बोलाइएको हो ।
कार्यक्रममा सहभागिताका लागि धर्मगुरु आत्मानन्दको निमन्त्रणा लिएर किराँत ज्योतिष संघका केन्द्रीय अध्यक्ष डा.चन्द्रकुमार शर्मा काठमाडौं आएका थिए ।
केन्द्रीय अध्यक्ष शर्माले डा.कोइरालालाई सहभागिताका लागि निमन्त्रणा पत्र दिँदै भने,‘गुरुको नजरमा यो देशमा तपाईं जत्तिको स्वच्छ र इमान्दार नेता कोही छैन,तपाईं जसरी पनि कार्यक्रममा आइदिनुपर्छ। गुरुको यहि आदेश छ ।’
डा.कोइराला पार्टी भित्र र बाहिर धार्मिक आस्थावानको नेताका रुपमा परिचित छन् । कुनै पनि भेटघाट या कार्यक्रममा जाँदा मठमन्दिर देख्ने वित्तिकै ढोग्ने स्वभावका डा.कोइरालाले गुरुको निमन्त्रणालाई नकार्न सकेनन् र कार्यक्रममा सहभागिता जनाइहाले । सांसद कोइराला कार्यक्रममा पुगेपछि त्यहाँको माहोल नै रोचक बन्न पुग्यो ।
धर्मगुरु आत्मानन्द लिङ्देनले राजनीति सुनेका भएपनि प्रत्यक्ष सहभागी भने भएका छैनन् ।तर,उनले सत्ताको राजनीति भने बुझेका छन् । डा.कोइराला र लिङ्देनबीच केही समय संवाद भयो । उनीहरुबीच धार्मीकसंगै विभिन्न विषयमा संवाद समेत भएको थियो ।
धर्मगुरु आत्मानन्दले डा.कोइरालासंग राजनीतिक संवाद गरे । धर्मगुरुले डा.कोइरालालाई स्वागत गर्दै भने,‘यो देशमा तपाईं जत्तिको स्वच्छ र इमान्दार नेता कोही छैन,मुलुकको बागडोर सम्हाल्नुस् ।’
मुलुकमा कोइराला परिवारले प्रजातन्त्र देखि लोकतन्त्रको आरोह र अवरोहसमेत देखेको तथा भोगेका दृष्टान्त पेश गर्दै उनले डा.कोइरालालाई गिरिजा जस्तै मुलुकमा शासनसत्ता सम्हाल्न आग्रह गरे ।
‘गिरिजाप्रसादपछि मुलुकले अभिभावक पाएन। त्यसको कार्यभार तपाईंले सम्हाल्नुपर्छ। तपाईंमा गिरिजाप्रसादको झल्को आयो। देश र जनताको अभिभावक बन्न काँध बलियो बनाउनुहोस्,’गुरु आत्मानन्दले डा.कोइरालाको काँधमा हात राख्दै भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहेको बताए । नेपालीहरूले विविधतामा एकता कायम राख्दै आफ्नो पहिचान, संस्कृति र परम्पराको पालना गरिरहेको बताए ।
सामूहिक एकता र प्रगतिको भावनाले नै राष्ट्रियता निर्माण उनको भनाई थियो । संस्कृतिलाई संरक्षण गर्नुपर्ने दायित्वबाट राज्य पछाडि पर्न नहुनेमा डा.कोइरालाले जोड दिए ।