महिला सशक्तीकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : प्रदीप यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तीकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताएका छन् ।
बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले वीरगञ्ज महानगरपालिकाले सुरु गरेको अभियान सुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरूमा पनि किशोरीहरूका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताए । किशोरीहरूको सशक्तीकरणको लागि तालिम कार्यक्रमहरू सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताए ।
उनले भने ‘यो कार्यक्रम केबल सुरुवात मात्रै हो । भविष्यमा अन्य जिल्लाहरूमा पनि यस्ता तालिम सञ्चालन गर्ने, महिला सशक्तीकरण अझ बिस्तार गर्ने सरकारको योजना रहेको छ । किशोरीहरूको सशक्तीकरणको लागि तालिम कार्यक्रमहरू सञ्चालन गर्न हामी कटिबद्ध छौँ । यहाँबाट सिक्ने सीपबाट जीवनमा आत्मबल बढाउँछ, आत्मविश्वास बढाउँछ, शारीरिक र मानसिक रूपले बलियो बनाउँछ । हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउँछ, महिला हिंसा सहन सकिँदैन, आत्मरक्षा गर्न सक्छन् भन्ने विश्वास दिलाउँछ ।’
मन्त्री यादवले यस्ता तालिमहरूले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रूपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताए । महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।