चर्चित खेलाडी शिखर धवनले एनपिएल खेल्ने, कर्णाली याक्समा आबद्ध
काठमाडौं । भारतका चर्चित क्रिकेटर शिखर भवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन् । उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो ।
कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत धवनसँगको सम्झौताबारे जानकारी गराएको छ । कर्णालीबाट एनपिएल खेल्ने शिखर धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ । सम्झौताअनुसार धवनले कम्तिमा चार खेल खेल्नेछन् । यसपछि यहाँको माहोलसँगै समय भएको खण्डमा थप खेल खेल्न सक्नेछन् ।
नेपालको सांस्कृतिक र प्राकृतिक सौन्दर्य अनुभव गर्ने लक्ष्यसहित धवनले पशुपतिनाथ मन्दिर दर्शन गर्ने र एभरेस्ट बेस क्याम्पको यात्रा गर्ने योजना बनाएका छन् । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले धवनको आगमनलाई नेपाली क्रिकेटका लागि एक ठूलो अवसरको रूपमा लिएका छन् ।
कर्णाली याक्सले यसअघि तीन विदेशी खेलाडीहरूवेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका मोहम्मद हुसैन तलात, र हङकङका बाबर हायतलाई टोलीमा समावेश गरिसकेको छ ।