महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैङ्कहरूमा महालक्ष्मी विकास बैंक एक पहिलो विकास बैंक बनेको छ । कार्तीक २८ गते एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरूले अलिपे प्लस नेटवर्कमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रूपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोग प्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तर्देशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
यस बैङ्कको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।