‘लु सुन : नेपाली साहित्यकारका दृष्टिमा’ पुस्तक विमोचन

काठमाडौं । देवकोटा–लु सुुन प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘लु सुनः नेपाली साहित्यकारका दृष्टिमा’ कृतिको आज विमोचन गरिएको छ ।

प्रतिष्ठानको १३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिङ, प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेल, डा.महेश मास्के, डा.राजेन्द्रप्रसाद अधिकारी, प्रतिष्ठानका पूर्वअध्ययक्ष निनु चापागाईँलगायतबाट पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रममा डा.मास्केले महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे एउटा विशेषवार्ता प्रस्तुत गरेका थिए । गणराज्य चीनका सांस्कृतिक क्रान्तिका नायक लु सुनबारे डा.अधिकारीले गहन वार्ता प्रस्तुत गरेका थिए ।

डा.मास्केले देवकोटालाई हिन्दी साहित्यका छायावादी कवित्रय प्रसाद, पन्त र निरालाका समकक्षी, प्रतिनिधित्व एक्लै गर्न सक्षम छन् भन्ने भारतीय विद्वान् राहुल सांकृत्यायनको प्रसिद्ध भनाइ उद्धृत गर्दै देवकोटा कसरी लु सुनजस्तै जनजीवनकै गीत गाएर आफ्ना कृतिमा रम्न सके भन्नेबारे अध्ययन गर्नुपर्नेमा जोड दिए ।

नेता ज्ञवालीले देवकोटा र लु सुन क्रमशः नेपाल र चीनका दुुई महान् हस्ताक्षर भएकाले प्रतिष्ठानले उहाँहरूका व्यक्तित्व र कृतित्वलाई थप चिरस्थायी गराउन भूमिका निर्वाह गरेको बताए ।

डा.अधिकारीले नेपाली समाजमा म्याक्सिम गोर्की, प्रेमचन्द र लु सुन अत्यधिक पढिने उल्लेख गर्दै वर्तमान परिवेशमा लु सुनका सांस्कृतिक क्रान्ति जगाउन सक्षम धारणालाई नेपाली समाजमा अनुशरण गर्न सकिन्छ भन्नेबारे चिन्तन, मनन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपालबाट दिलसुन्दर श्रेष्ठ, मेलसम ओझा, सुनिता भट्टराई, स्नेह सायमी, डा उपेन्द्र गौतम, बालकृष्ण श्रेष्ठ, जितेश महर्जनको उपस्थिति थियो भने चीनका डुवाङ स्लिङ (सांस्कृतिक सचिव, चिनियाँ दूतावास), सु झिजाएलगायत सहभागी थिए ।

कार्यक्रममा जनगायक जीवन शर्माले लु सुनद्वारा रचित तथा शान्तदास मानन्धरद्वारा नेपाली भाषामा अनुदित गीत ‘यो संसारमा मैले के गर्न सक्थेँ’ बोलको गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *