खेलकुदले राष्ट्रलाई एक बनाउँछ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलकुदले राष्ट्रलाई एक बनाउने बताएका छन् ।
शनिवार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी जनाउँदै उनले खेलकुदले राष्ट्रलाई एकढिक्का बनाउन मद्दत गर्ने बताएका हुन् । उनले राजनीतिले फरक—फरक ठाउँ उभ्याएका व्यक्तिहरूलाई खेलकुदले एकै ठाउँमा ल्याउनसक्ने बताए । राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु नहुने उनको सुझाव छ ।
उनले भने ‘राजनीति गर्ने मान्छेले राजनीति मात्रै प्रथम र अन्तिम सोच्नु हुँदैन । राजनीति बाहेक जीवनका अन्य धेरै पाटाहरू छन् । राजनीतिले फरक फरक ठाउँ उभ्याएका मान्छेहरूलाई पनि कला, साहित्य, सङ्गीत, खेलकुदले एउटा ठाउँमा उभ्याउँछ । सबैलाई जोड्ने चिज भनेको साहित्य, सङ्गीत, कला हो । यसको मजा अर्कै छ । फुटबलमा जसरी नियममा बाँधिन्छौँ, त्यसरी नै राजनीतिमा पनि सिक्नुपर्छ । स्पोर्ट्सबाट अनुशासन सिक्नुपर्छ ।’
राजनीतिकर्मीहरूले खेलकुदबाट अनुशासन सिक्नुपर्ने उल्लेख गरे ।