छ सय एक हप्ता सफाइ गर्दा पनि बाग्मतीको अवस्था उस्तै
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौं उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन ।
वि.सं. २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर बाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे पनि बाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् ।
सुरुआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाहीले ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि वाग्मती सफा देखिन नसकेको बताए ।
बाग्मतीको मुहानदेखिकै स्थानीय सरकारले माथिल्लो भेगबाटै आउने फोहर अझै व्यवस्थापन गर्न नसक्नु, पशुपति क्षेत्रको आर्यघाटबाट निस्कने फोहरलाई अझै पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन नगर्नु र फोहर पानी प्रशोधन केन्द्रले राम्रोसँग काम नगर्नु जस्ता कारणले अझै वाग्मती सफाइ हुन नसकेको उनको निष्कर्ष छ ।
महाअभियान नागरिकस्तरबाट सुरु गरी जागरण गर्दा पनि स्थानीय सरकारले फोहर व्यवस्थापनमा चासो नदेखाउँदा प्रभावकारी सफाइ हुन सकेको छैन । सफाइ अभियानकर्मी चक्रबहादुर चन्द १२ वर्षअघिको अवस्थाबाट वाग्मतीमा सफाइको अवस्थामा सुधार गर्न सकिए पनि आशातीत काम भने हुन नसकेको बताए ।
ढलमुक्त गराउन भने सरकारले नसकेको उनले स्वीकार गरे । अधिकार सम्पन्न वाग्मती समितिले एक वर्षमा गुह्येश्वरीसम्म ढलमुक्त गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । समितिले गुह्येश्वरीसम्मका छ ठाउँमा ढल मिसिइरहेकामा तीन ठाउँमा बन्द गराइसकेको जनाइएको छ ।
बाग्मती सफाइ महाअभियानको छ सय एक हप्ताको आजको सफाइ काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा गरिएको थियो । वाग्मती सफाइ अभियानकर्मीको समूहले गरेको सफाइसँगै आज त्यस क्षेत्रका वाग्मती किनारमा रोपिएका बोट विरुवा गोड्मेल पनि गरिएको थियो । वाग्मती नदीबाट नकुहिने फोहर पनि व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।