प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ ।
नेकपा एमालेले भारतीय ‘द हिन्दु’ पत्रिकालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठद्धारा शनिवार जारी प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए । सोही विषयलाई लिएर एमालले औपचारिक रुपमै आपत्ति जनाएको हो । नेकपा एमालेले कडा निन्दा र भर्त्सना गरेको छ ।
भारतीय मिडियामा दिएको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै एमालेले टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न आग्रह गरेको छ ।
एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।